बजेट राष्ट्रिय सुरक्षा र कृषिमा केन्द्रित हुनुपर्छ : भीम रावल
वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:१५
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् ।
कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए ।
देश र जनता सुरक्षित नभई कुनै पनि काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेसम्म काम सुरु नभएको उनले बताए । पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहे पनि अहिले सबै बन्द रहेकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माणलगायत व्यक्तिगत आवश्यक उपकरणको प्रवन्ध गर्न सरकारलाई आग्रह गरे ।
ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्था आएको तर भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यस्ता विषयमा ध्यान दिन आग्रह गरे ।
सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रश्रय दिइएको उनले बताए ।





























