कुकुर पाल्दा अनिवार्य अनुमतिपत्र लिनुपर्ने

6.37K
shares

काठमाडौ।

तपाईं कुकुर पाल्दै हुनुहुन्छ रु यदि पाल्दै हुनुहुन्छ भने अनिवार्य दर्ता गराउनुपर्नेछ । अब वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ ।

महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न काठमाडौं महानगरपालिकाले अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो।

कामपाले हिजो बिहीबार सार्वजनिक गरेको आव २०७७र२०७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था ल्याएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले कुकुर पाल्नेले राम्रोसँग हेरबिचार गर्नुपर्ने भावनालाई अघि बढाउँदै अनिवार्य रुपमा कुकुरको दर्ता गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब कसैले पनि कुकुर पाल्दा वडामा दर्ता गरेर, रेकर्ड राखेपछि मात्रै अनुमतिपत्र दिनेछौं ।’

नीति तथा कार्यक्रमको आर्थिक तथा रोजगारी नीतिअन्तर्गत कृषि, खाद्य तथा पशु नीतिको ६७ नम्बर बुँदामा घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहत् भेक्सिनेसन कार्यक्रमअन्तर्गत घरपालुवा जनावरको स्वाथ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने उल्लेख छ । सोही बँुदामा कुकुर पाल्नका लागि महानगरको अनुमति अनिवार्य गरिने उल्लेख छ ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले अघि सारेको नीतिलाई यो वर्षको भदौबाट कार्यान्वयनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो–‘अब शुल्क तिरेर दर्ता गर्ने व्यवस्था गर्न लागेका छौं ।’

कति शुल्क तय गर्ने भन्ने विषयमा बजेट सभाले निर्णय गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘कुकुर पालेपछि छाडा रुपमा बाटोमा छाड्ने सोचलाई निर्मूल गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेका हांै ।’

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले कुकुर पालेपछि त्यसलाई छाडा नछाड्ने, प्रत्येक वर्ष रेबिजलगायतको भ्याक्सिन दिने व्यवस्था नगरेर पालेपछि बाटोमा छाड्ने प्रवृत्तिको अन्त्य गर्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अघि सारिएको जानकारी दिनुभयो । बजेट पारित भएलगत्तै कामपाले घरमा पालिएका सबै कुकुरको तथ्यांक संकलन गरिनेछ ।

सबै वडाले कुकुरको तथ्यांक संकलन गरेपछि रेकर्ड राखिने व्यवस्था गरिएको छ । प्रवक्ता डंगोलले अब राजधानीको सबै कुकुरको तथ्यांकसहित अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

कामपाले सार्वजनिक गरेको २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

नीतिमा कामपाले कोभिड–१९ प्रतिकार्य योजना तयार गरी लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।

मेयर शाक्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भइरहेको महसुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ ।’ नीति तथा कार्यक्रममा महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति नभएको उल्लेख छ ।

गुणस्तरीय एवं न्यूनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइने, वडावडामा मृगौला जोगाउ अभियान सञ्चालन गरिने उल्लेख छ ।

अर्बुद रोगलगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने, कोभिड–१९ तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागू गरिने उल्लेख गरिएको छ ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण काठमाडौं उपत्यकाको वातावरणमा ल्याएको सकारात्मक परिवर्तनबाट पाठ सिक्दै महिनाको एक दिन भेइकड फ्रि डे घोषणा गरी रिङरोडभित्र निजी सवारीसाधनको प्रयोगलाई न्यूनीकरण गरिनेछ ।

विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, कोभिड–१९ महामारीले लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फन्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिने उल्लेख छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


divya collage
unigloble collage