पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा

15.61K
shares

पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो ।

दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको ‘आउ है भुजिकोट’ को अडियो सार्वजनिक भएको छ । गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो । उक्त गीतमा गायिका अजुदा थापाले स्वर भर्नुभएको छ भने सन्तोष प्रधानले सङ्गीत दिनुभएको छ ।

प्रकृतिको सौन्दर्यमा छैन कुनै खोट
माया लाउने भए साइँला आऊ है भुजिकोट

उत्तर हेर्यो महानगर, सातै तालको शहर
दक्षिणतिर नागबेली शुक्ला नदी लहर
पात बजाई बोलाउँछ, लाँकुरीको बोट
माया लाउने भए साइँला आऊ है भुजिकोट

मुस्काउँछ हिमचुली, मगमगाउँछ बुंकी
फेवा, रूपा, बेगनासले हेर्छ लुकीलुकी
झुल्किदिन्छ एकैसाथ लेक, बेँसी, भोट
माया लाउने भए साइँला आऊ है भुजिकोट

बन्केवाको उकालीमा, दगामकी सानी
हुलका हुल देख्छु भन्छे भ्यूटावर जानी
सूर्योदय हेर्नलाई जाउँला स्थानथोक
माया लाउने भए साइँला आऊ है भुजिकोट

यस ठाउँबाट कास्की जिल्लामा रहेका सातवटै ताल अवलोकन गर्न सकिन्छ । यहाँ दृश्यावलोकन स्तम्भसमेत निर्माण भएको छ । साथै यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको समन्वयमा पर्यटक आकर्षित गर्ने उद्देश्यले उक्त ठाउँमा रु १३ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । स्तम्भ निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् । स्तम्भबाट रातको समयमा पोखरा, लेखनाथ र तनहुँकै खैरेनीटारलगायतका क्षेत्रमा झिलीमिली बत्ती बलेको हेर्न पनि पर्यटक आकर्षित हुने गरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । सूर्यास्त र सूर्योदयको दृश्यावलोकनका लागि पनि भुजिकोट प्रख्यात छ ।

स्थानीय तहले नदेखेको पानीटार, पर्यटकको आकर्षण बन्दैछ
तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेवित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।

स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।

अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि शुरु भएको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर केही तलतिर झर्नुपर्छ ।

सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको विर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् । यो बाटो झापाबाट ५३ किमी हिँड्दा नै मङ्गलबारे पुगिन्छ ।

हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य पानीटार बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउनुहुन्छ । शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । “कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ”, शेर्पाले भने, “आउँदो साल माथिल्लो क्षेत्र (गाग्रेभञ्ज्याङ) बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।”

पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छायाङ्कन गर्ने स्थल हो पानीटार । केही समयअघि मात्रै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारी राखिएको छ । प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले आफूहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेको चलचित्र निर्देशक केवल तामाङ बताउँछन् । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ भएकाले धेरै रजतपटकर्मी आउने गरेको तामाङ बताउँछन् ।

“हामीले चलचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार गर्न सक्छौँ, त्यसका लागि हामीलाई पनि नयाँ–नयाँ ‘डेस्टिनेशन’ चाहिन्छ”, तामाङले भने, “यी सबै पक्ष पानीटारमा छ, यसैले अहिले पानीटार आएका हौँ ।” तामाङसमेत चलचित्र कृष्णलीलाको छायाङ्कनका लागि पानीटार पुग्नुभएको छ । चलचित्रको मुख्य छायाङ्कनस्थल पनि पानीटार नै हो तर निर्देशक तामाङ स्थानीय तहले यस्ता मुख्य गन्तव्यस्थललाई चासो नदिँदा सधैँ पछाडि पर्ने बताउँछन् ।

“हाम्रा जनप्रतिनिधिलाई चलचित्र पनि पर्यटकीयस्थलको प्रचार माध्यम हो भन्ने थाहै छैन”, तामाङले भने, “चलचित्रमा खिच्न आउन मन लाग्छ तर सबै लागत आफैँले व्यहोर्नुपर्दा लागत बढ्छ । स्थानीय तहले केही हिस्सा व्यहोर्दा धेरै सहज हुन्थ्यो तर भएको छैन ।” हुन त इलाम आफैँ पनि पर्यटकीय क्षेत्रको अब्बल क्षेत्र हो ।

श्रीअन्तु, कन्याम, माईपोखरीमा वर्षैभर पर्यटक घुम्छन् । यी क्षेत्रका बासिन्दाको कमाइखाने मेलो नै पर्यटक हो । घरवास, होटल खोल्ने, स्थानीय परिकारको स्वाद चखाउने कारणले नै पर्यटक पल्किन्छन् तर पानीटारमा चाहिँ अहिलेसम्म व्यवस्थित खानपान र बस्ने ठाउँको अभाव छ । भर्खरै पर्यटकीय क्षेत्र बन्दै भएकाले पनि घरवास खुल्ने क्रममा छन् । पर्यटक बढ्दै जाँदा स्थानीयवासीले घर–घरमा होटल सञ्चालन गर्न थालेको पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन् ।

उनका अनुसार अहिलेसम्म पानीटारमा व्यवस्थित होटल छैन । बस्ने व्यवस्था नभएकाले लामो समय पानीटारमा रहँदैनन् । अब भने पर्यटन व्यवसायीकै सहकार्यमा बस्ने प्रावधान मिलाउने योजना बनाउँदै आएको समेत शेर्पा बताउनुहुन्छ । अहिले पानीटारमा शनिबार र शुक्रबार करिब २०० को हाराहारीमा पर्यटक भित्रिन्छन् । विशेषतः घुमघाम र हिउँदमा वनभोज आउनेको सङ्ख्या बढी हुन्छ । “अहिले वनभोजका लागि त हामीले स्थानीय सिंहदेवी सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र बनाएका छौँ”, शेर्पाले भने । यहाँ निजी र सामुदायिक दुई किसिमको चियाबारी छ ।

स्थानीय तहले नदेखेको पानीटार

चलचित्र निर्देशक तामाङले भनेझैँ पानीटारको प्रवद्र्धनमा स्थानीय तहको ध्यान गएको देखिँदैन । देउमाई नगरपालिकामा पर्ने यस क्षेत्रमा स्थानीयवासी र मिडियाकर्मीकै भरमा प्रवद्र्धन भएको पर्यटन व्यवसायी शेर्पा बताउँछन् ।

यता नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकारेको छ । नगरका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताए। सबै पक्षको ध्यान जाने हो भने पानीटार केही वर्षमै पर्यटकीयस्थल बन्ने पर्यटनकर्मी शेर्पाको भनाइ छ । पानीटारमा खानेपानी अभाव टार्नका लागि केही महिनाअघि मोटरबाट तानेर उपलब्ध गराउन थालिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083