मर्नु भन्दा बहुलाउनु बेस् भन्ठाने..!

Nepal Life Insurance Long Ad

हर दिन झैँ सूर्य उदाएको थियो । राजधानी झरेकी म मात्र होइन मनभरि पिडा र झोलाभरि सपना काकुम्लाहरु पनि साथमा थिए।

काठमाडौँ आइपुग्दा साँझको पाँच बजेछ । अनेक सपनाले घरिघरि बाडुल्कीमा यादहरु पठाइरहेका थिए । कस्तो अनौठो, कति ठुला ठुला सिमेन्ट र सिसाले बनेका घरहरु, सारै मनै लोभ्याउने, भेडीगोठ आएजस्तो बस गाडीका जामहरु । हतारिएका मान्छेहरु अनित्यो भिडमा अतालिएको मेरो मन ।

गाँउमा कसैले उँभो लाग्न दिदैन, सहर भए एकसुर हुन्छ भनेर सहर पस्न हतारिएको मन । के गर्नु सहर त सबै प्लास्टिकको फूलजस्ता। हेर्दा दुरुस्तै प्राकृतिक तर रस वासना नभएका। मलाई सहर हेर्न मन थियो । बाक्लावस्ति अनि सहरका सुकिला मान्छे हेर्न मन थियो ।

बसबाट झरेँ । कसैले मलाई चिनेन। मैले पनि कसैलाई ठम्याउनै सकिनँ । भनेको सुन्थेँ सहरमा कोही आफ्ना हुँदैनन् भनेर तर वास्तवमा यहाँ कोही चिनिदो रहेनछन् । कारण , म फलरले छोपेको अनुहार र आँखामा काला ठुला चस्मा ।
हातमा थोत्रो घडी , च्यातिएको झोलाअनि मैला एकथान लुगा थियो मसँग ।

दिनभरी गाडीमा यात्रा गरेर थकितभएको ज्यान कतै लम्पसार गरेर आरामगर्न चाहान्थ्यो तर साँघुरो सहरमा मेरा पैताला अड्याउने ठाउँ सम्मपनि ठेलामठेल गरेर ओगट्नु पथ्र्यो ।

बोराबाट आलु खन्याए जसरी बसले जडीबुटिको बसपार्कमा लगेर खन्यायो । २ सय मिटर जति पर लगेर कोटेश्वर भन्ने ठाउँमा रहेछ । भोक र तिर्खाएको ज्यानले अब आलश्य बनेर घुर्काउन थाल्यो । ठेलाम्ठेल यात्रा र जात्राबाट उम्किएर कहाँ निर ज्यान बिसाऊँ भएको बेला एउटा पाटीमा थचक्क बसे ।

घरबाट भाग्ने बेला गोजीमा पोको पारेर राखेको ४ फाँको जती सातु झिकेर निल्ने जमर्को गरेँ । फुको सातु सुकेको घाँटी, सातु पनि सर्कियो । वरीपरी पानी काकुवाहरु हेरेँ, कतै भेटिनँ । गाउँमा धर्म कमाउन भए पनि पानी माग्दा कसैले नाई नभन्ने संस्कारमा हुर्केको म यहाँ पानी माग्दा माग्ने भन्ने संस्कारमा परेछु ।

मर्नु भन्दा बहुलाउनु बेस् भन्ठाने । सडक पेटी तलनालीमा देखा परेको आधा भरिएको एउटा पानी फेलापारे र त्यहीपिएँ ।
भोक र तिर्खा त्यही सातु र पानीले मेटियो । जिन्दगीले एउटा अनौठो अनुभव गर्ने मौका दियो ।

आकास पुरै अँध्यारो देखिन थाल्यो । गड्याङ गुडुङ् र चट्याङ्का आवाजहरु मेरा कान सम्म आइपुगे । एकैचोटी कहिलेको रिस फेर्न हो वर्षात रुपी प्रकृति म माथि बज्रियो । अरु माथि पनि नबज्रेको होइन तर सबै ओत माथि एवालागे।

यहाँ त ओत पाउन पनि सुकिलो मुकिलो हुनुपर्दो रहेछ। रातको ९ बज्यो । कोटेश्वरमा ठुला ठुला घर भए पनि ओत लाग्ने दलान कतै देखिदैनथ्यो । पारिपट्टी एउटा पुलिस चौकी देखियो । त्यहाँ पुगेर कसैले नदेख्ने गरी आफूलाई ओत लगाएँ । थाकेको ज्यानओत लागेकै ठाउँमा भुसुक्क निदाएछ ।

बिहान बिउझिँदा पानी रोकिएको थियो । न्यानो घामको स्पर्शले मलाई छोयो । आज जसरी भए पनि मैले जागिर खोज्नै पर्ने थियो । कोठा पनि खोज्नु पर्ने थियो । पहिला जागिर खोजौ कि कोठा दोधारमा भइयो । कोठा नभए सडकमै बस्नु पर्ने पिर, जागिर नभए कोठा भाडा तिर्न नसक्ने पिर ।

अब मेरा पाइलाहरु जागिर खोज्नतिर अघि बढे । खोज्दै जाँदा दिनको १ बजे फोहोरको गाडीमा फोहोर उठाउने जागिर मिल्यो । तलब  १४ हजार तोकियो । काम फोहोर उठाउने भए पनि कामै त हो भन्ठाने ।

अन्य सुखका सुकिला जागिर खाने म सँग हैसियत थिएन । कारण म सँग पढाइ र कार्यानुभवका प्रमाणपत्रहरु थिएनन् । 
सुरुमा फोहार उठाउन निकै गाह्रो भयो । विस्तारै विस्तारै गाउँमा मल बोकेको जस्तो लाग्नथाल्यो ।

दिन महिना र वर्ष वित्दै गए । आज पनिती फोहोरका डङ्गुरहरु म भन्दा अग्ला छन् तर मेरो अस्तित्वले कहिले त्यसलाई नाघ्न सकेन बरु त्यसैको छायामा म हराएँ। त्यसैको दुर्गन्धमा मेरो भएका वासना पनि विलाउँदै गए। न कसैले सम्मानले बोलायो न कसैले त्यहाँ सम्म आइ पुग्नुको इतिहास सोध्ने चेष्टा गर्यो । किन कि आफू सफा देखिन सबै फोहोर फ्याँक्नमै व्यस्त थिए।

दिन महिना र वर्ष वित्दै गए । मन रमाएर होस कि नरमाएर काम चल्दै थियो । कसै माथि गुनासो थिएन । 

घरमा बिरामी आमा बिमारी भन्ने खवर आयो । मनै त हो , वर्षाैसम्म फोहोरमा रमाउन जाने पनि आमाबुबा र भाइबहिनीको सम्झनाले कहाँ हराउन दिन्छ र । फोहोरकै ढिकुरो उठाएर भए पनि कमाएको केहि रुपैया आमाको उपचारका लागिपठाएँ ।

एक दिन अचानक छाति दुखेर खोकी लाग्यो । शरिर अचल जस्तो हुन लाग्यो । विभिन्न घाउ देखा परे । अस्पताल जाँदा कुष्ट रोग रहेछ । उपचार गर्न ढिलो भएकाले निको हुने सम्भावना पनि रहेनछ ।

आज यो ज्यान यहि आर्यघाट अघि लम्पसार परीरहेको छ । फोहोरको ढुकुटिमा वर्षौँ वितिसकेर हो कि कर्मै यस्तै हो । न मरिएको छ न बाँचीएको छ । 

६ माघ २०७७, मंगलवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु