‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने
पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन गरेर मात्र जानु भन्ने अनिवार्य नियम बनाइदिन्थें । यसो गर्दा जीवनको क्षणभंगुरतासित ठोक्किएर भावुक भई पो हाल्थे कि !
मिडिया सन्चालिका आस्मा न्यौपाने पत्रकारिता क्षेत्र देखि सिनेमाटिक दुनिया सम्म भिझन र उनि देश देखि विश्व स्तरिय भिझेकि सफल नारी भनेर चिनिन्छिन्।
बिराटनगर स्थायीवासी उनी बिजनेस बिर्धाथी एकसाथ सामजिक शिक्षा सकाएर उनि मलटिमिडिया तिर २०१६ देखि मिडिया क्षेत्रमा अडिग भइरहेको बताउँछिन् ।
हाम्रो खबरका प्रश्नहरूमा उनले दिलै खोलेर दिएका जवाफ :
१. पछिल्लो समय रुचि लागेको क्षेत्र वा विषय ?
पछिल्लो समय क्वान्टम फिजिक्समा रुचि बढिरहेको छ । विज्ञान मूर्तताबाट क्रमशः अमूर्तता तर्फको यात्रामा छ । क्वान्टम फिजिक्सको रहस्यमयी दुनियाँले मलाई चुम्बकले जस्तो हरपल आफूतर्फ तानिरहेको महसुस हुन्छ । जीवनभर भौतिकवाद भनेर हिंडें, भौतिक दुनियाँ मात्र सत्य हो भन्ने मानेर हिंडें । विज्ञानले नियमहरूको कुरा गर्छ भनेर बुझें ।
क्वान्टम दुनियाँमा छिरेपछि थाहा पाएँ, यहाँ त कुनै नियम नै लागू हुँदैन रहेछ । सन् २०२२ को फिजिक्सतर्फको नोबेल पुरस्कार क्वान्टम इन्ट्याङगलमेन्टलाई दिएपछि त यसको चर्चा झनै चुलिंदो छ ।
यसका अलावा मेरो रुचि र रुझान अध्यात्ममा पनि उत्तिकै छ । स्वयंले स्वयंलाई बुझ्न र महसुस गर्नका लागि अध्यात्म एक प्लेटफर्म हो मेरा लागि ।
२. हिजोआजको कुन समाचारले वा घटनाले खुसी हुनुभयो ?
म भोगाइको त्यो स्तरमा पुगिसकें, जहाँ खुसी दिन्छन् भनेर सोचिएका ठूला–ठूला कुराहरूले मलाई खुसी दिंदैनन् । त्यसैले मेरो खुसी कुनै समाचारको बाटो भएर आउँदैन अचेल । खुसी त बरु घरमा काम गर्न आउने दिदीले माया मानेर ल्याइदिएको एक मुठी धनियाँ वा दुई–चार दाना कागतीले पो दिन्छ त !
३. अहिले के कुराले दिक्क बनाइरहेको छ ?
म आकाश र आकाशको नीलिमा हेर्न मन पराउने मान्छे । वरपरका हरिया डाँडाकाँडा र सेता हिमालहरू हेर्न मन पराउने मान्छे । केही समययताको वातावरणीय प्रदूषणले पोखराको आकाश, डाँडा–काँडा र हिमालहरू सबै छोपिएका छन् । कैयौं दिनदेखिको यो धुलाम्य र धूमिल परिवेशले दिक्क बनाइरहेको छ
४.पछिल्लो समय बोध भइरहेको नयाँ कुरा ?
म केही न केही नयाँ गरिरहन र सिकिरहन मन पराउने मान्छे हुँ । यस अर्थमा पछिल्लो चरणमा मिनिमलिज्म सम्बन्धी थुप्रै किताब पढिरहेकी छु, भिडियोहरू हेरिरहेकी छु । जीवनमा हल्का भएर बाँच्न मिनिमलिज्म जरूरी छ भन्ने महसुस पनि भएको छ । डिजिटल मिनिमलिज्म अपनाउन धेरथोर सफल छु भन्ने लाग्छ, अन्य सवालमा भने अभ्यास गर्दै जाने सोच छ ।
५.अहिलेको नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाज आधुनिकतालाई एकदम सहज र स्वाभाविक ढंगले ग्रहण गर्छ । जस्तै दुःखमा पनि खुसी भएर बाँच्ने कला जान्दछ ।
नराम्रो पक्ष चाहिं आवश्यकताभन्दा बढी जे कुरामा पनि चासो राख्छ र अनावश्यक रूपमा बहस, विमर्शमा जुटिरहन्छ । अमेरिकामा चुनाव हुँदा अमेरिकीहरूभन्दा बढी अमेरिकाको चुनाव नेपालीलाई लाग्छ । कामभन्दा बढी कुरा गर्न मन पराउँछ ।
६.पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? आजको पत्रकारिता तपाईंलाई कस्तो लागिरहेको छ ?
हेर्छु । विशेषगरी सूचनाका लागि हेर्छु । पत्रकारिता कहिलेकाहीं पत्रकारिता जस्तो, कहिलेकाहीं अलपत्रकारिता जस्तो लाग्छ ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
जिन्दगीमा जानेर–नजानेर गरेका भूलहरू वास्तवमा जिन्दगीकै सौन्दर्यको एक पाटो हो । ती भूलहरू हुन्थेनन् भने जिन्दगीमा रोमाञ्चकता नै हुन्थेन सायद । भूलहरूले जिन्दगीलाई एकरसता र बोरिङ हुनबाट बचाएका हुन्छन् । यस्तोमा पछाडि फर्किएर गरेको कुनै काम किन सुधार्नु ? जो बित गई सो बित गई !
७.आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
पर्यावरण जोगाउन सचेतना सञ्चार गर्नु । आफू पृथ्वीमा आउँदा पृथ्वी जस्तो थियो, छोडेर जाने बेला सके त्योभन्दा सुन्दर बनाउन भूमिका खेल्ने, नसके पनि बिगारेर चाहिं नजाने प्रण गर्न जरूरी छ । अरू केही नगरे पनि जतिसक्दो रूख रोपौं ।
१ नेपालको राजनीतिलाई एक वाक्यमा भन्नु पर्दा ।
बाँदरको हातमा नरिवल ।
२. हाम्रो राजनीतिको मुख्य समस्या कहाँ देख्नुहुन्छ ?
नेतृत्व पंक्तिमै समस्या छ । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो छ ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
सुधार्न त त्यस्तै हो, बरु पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन गरेर मात्र जानु भन्ने अनिवार्य नियम बनाइदिन्थें । यसो गर्दा जीवनको क्षणभंगुरतासित ठोक्किएर भावुक भई पो हाल्थे कि ! भावुकताले नेताहरूलाई क्लिन्जिङको काम गरिपो हाल्थ्यो कि !
४. मन परेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ? सबैभन्दा कमसल लागेका नेता ?
मलाई बी.पी. कोइराला हिजो पनि मन पर्थे, आज पनि मन पर्छ । उनको अध्यननशीलता, गम्भीरता, दूरदर्शिता, धैर्य र नेतृत्व क्षमताको म सधैंको प्रशंसक नै हुँ ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिले के काम गर्नुहुन्थ्यो ?
म जस्तो अन्तरमुखी स्वभाव र एकान्त मन पराउने मान्छेलाई राजनीति सुहाउँदैन । नेतामा हुनुपर्ने एउटा पनि गुण र स्वभाव नभएको मान्छेलाई किन पो प्रधानमन्त्री बनाउन हुन्छ भनेर प्रश्न गर्थे !
६. एकदिन बिताउन पर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्थ्यो ?
छिमेकी देश भारतकी नेतृ जयललितालाई छान्थें । आठपटक विधान सभाको चुनाव लडेर ६–६ पटक मुख्यमन्त्री बनिन् । पिछडिएको राज्य तमिलनाडुको मुख्यमन्त्री भएर देशकै अग्रणी राज्य बनाउन उनले खेलेको भूमिका र चालेका कदमहरू सधैं सराहनीय लाग्छन् ।
भ्रष्टाचारको आरोपमा यिनी जेल चलान हुँदा तामिलनाडुमा २४४ जनाले त आत्महत्या नै गरे । पछि उनलाई सफाइ मिल्यो त्यो बेग्लै कुरा ! जीवनको एक कालखण्डमा तमिल फिल्महरूमा ग्लामरस हिरोइनको अवतार, अर्को कालखण्डमा राजनीतिमा सबकी अम्मा ! उनीसित दिनभर बसेर उनको जीवनका आरोह–अवरोहका बारेमा अझ गहिरोसित बुझ्थें ।
सामाजिक सञ्जाल
१. दिनको कति घण्टा मोबाइल वा सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
यति नै भन्ने छैन । फेसबुक आधा घण्टा जस्तो चलाउँछु होला । त्यो बाहेक आजकल मोबाइल गुगल गर्न वा कतिपय अनुसन्धानात्मक सामग्री पढ्न पनि प्रयोग गर्छु । खाना पकाउने बेला गीत सुन्न पनि मोबाइलकै प्रयोग हुन्छ । मैले बढी चलाउने कि गुगल कि युट्युब नै हो ।
२. बिहान उठ्नासाथ र राति सुत्नेबेला मोबाइल हेर्ने बानी छ कि छैन ?
एकताका बिहान चार बजे नै उठ्थें । निद्रा नपुगे जस्तो हुन थालेपछि आजकल बिहान पाँच वा साढे पाँच बजेको अलार्म लगाएर सुत्छु । सखारै अलार्म अफ गर्न पनि उठ्नासाथ मोबाइल त हेर्नै पर्यो । राति सुत्ने बेला अलार्म सेट गर्न पनि मोबाइल त चलाउनै पर्यो । त्यो बाहेक उठेर मोबाइल नै हेरेर बसिरहने बानीचाहिं छैन ।
३. सञ्जालको राम्रो, नराम्रो पक्ष के लाग्छ ?
सूचनाको स्रोतको रूपमा सञ्जालले काम गरिरहेको छ, त्यो राम्रो पक्ष लाग्छ । गलत सूचनाको प्रवाह पनि उत्तिकै गरिरहेको छ, त्योचाहिं नराम्रो पक्ष लाग्छ । सञ्जालमा सकारात्मकता थप्ने, ऊर्जा सञ्चार गर्ने कति कति कुराहरू आइरहेका हुन्छन् ।
अर्कोतिर सञ्जाल मान्छेको मानसिक र बौद्धिक स्वास्थ्यको ऐना पनि हो । सञ्जाल हेरेरै को कति मानसिक रूपमा रोगी छ, को कति बनावटी र देखावटी कुराहरूको सौखिन छ भन्ने पनि थाहा लाग्छ ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचनाको ?
यो कुरा चाहिं बराबरी जसो नै छ भन्ने लाग्छ ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
विल्कुलै लाग्दैन । फेसबुक बनाउने मार्क जुकरबर्ग हप्तामा औसतमा एउटा किताब पढ्छु भन्छन् । उनैले बनाएको फेसबुक चलाएर दिनमा ५–६ घण्टा फाल्नेले पढ्नलाई फुर्सद छैन भन्छ । यी त सब नपढ्ने वा पढ्न नचाहनेहरूका बहाना हुन् । पढ्ने मान्छेलाई केही कुराले नि रोक्न वा छेक्न सक्दैन ।
६. तपाईंको कोही रोलमोडल छ ?
कसैलाई रोलमोडल मानेर हिंड्नु भनेको ऊ जस्तै बन्ने चाहना पालेर हिंड्नु हो । म आफू आफू जस्तै हुनुपर्छ भन्नेमा विश्वास गर्ने मान्छे । त्यसैले यो रोलमोडलवाला कुरा दिमागमा कहिल्यै आउँदै आएन ।
१७ मंसिर २०८१, सोमवार १८:३२ बजे प्रकाशित