ओली सरकारको बहादुरी : सुकुमबासी बस्तीमा आगो लगाईयो

15.85K
shares

काठमाडौं । चितवनमा सरकारले साउन ४ गते आइतबार चितवनस्थित बाँदरझुल्लाको सुकुमबासी बस्तीका २ वटा घरमा आगो लगाएर खरानी बनाएको छ भने ८ वटा छाप्रा हात्ती लगाएर भत्काएको छ ।

माडी नगरपालिका वडा नं. ९ (साबिक आयोध्यापुरी १) मा राष्ट्रिय निकुञ्जका बीचमा रहेको उक्त जग्गामा ३१ वर्षदेखि अर्थात् २०४६ सालदेखि सुकुमबासीहरू बस्दै आएका चेपाङ जाति र दुराडाँडाका दुरा जातिका सकुमबासीहरूको घरमा आगो झोसेपछि सर्बत्र विरोध भईरहेको छ ।यसअघि पनि उक्त बस्तीमा सरकारले आगजनी र तोडफोड गरेको थियो ।

चितवनमा आइतबार बिहानैदेखि भीषण वर्षा भइरहेको थियो । ‘खोलानाला बढेका कारण अन्य वडाबाट आउजाउ बन्द थियो । फोन सेवा पनि बन्द थियो ।

त्यही बेला केही थाहा नदिई हात्ती र मोटरमा आएका मान्छेले आगो लगाए’, स्थानीय कृष्ण प्रजाले दुखेसो पोखे । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले आफूलाई कुनै जानकारी नदिईकन सुकुमबासी बस्तीमा आगजनी भएको विज्ञप्ति आइतबार साँझ जारी गरेका छन् ।

सुकुमबासीहरूलाई बसोबास र रोजागारको व्यवस्था गरेर स्थानान्तरण गर्नुपर्नेमा मुसलधारे पानी परिरहेको बेला एकाएक आगजनी गरेर सुकुमबासीका झुप्रा डढाउनुले सरकार कसको नियन्त्रणमा छ र कसको प्रतिनिधित्व गरिरहेको छ भन्ने प्रश्न उठेको छ ।

आगो लगाईउको बस्ती भएको ठाउँ सत्तारूढ पार्टीका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो । विप्लव नेतृत्वको नेकपा चितवनले उक्त अक्षम्य घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

चितवनका प्रचण्ड पक्षधर नेताहरूले भने प्रचण्डको बदनाम गर्न रक्षा मन्त्रालयले नियोजित रूपमा यस्तो घटना गराएको आरोप लगाएका छन् ।