प्रचण्ड नेकपाका अर्का अध्यक्ष मात्र होइनन्: प्रचण्ड आफै विचार हो, पथ हो, पार्टी हो, संस्था हो !

श्याम रोक्का                                                                  प्रचण्ड राप-ताप र  समय मात्र होइनन् प्रकाशको गति हुन्, विश्वास मात्र होइन दस्तावेज हुन्, जननेता मात्र होइन जननायक हुन् , विश्व कम्युनिष्ट आन्दोलनलाई नेपाली मोडेल दिने प्रचण्ड आफैमा प्रचण्ड हुन् ।

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, गणतन्त्र नेपालको संस्थापक प्रचण्ड आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंग हो प्रचण्ड।

प्रचण्ड न माओत्सेतुङ हो, न लेनिन वा चे ग्वेरा कोही सग तुलना गर्न सकिदैन किन प्रचण्ड विशेषता वा प्रचण्ड  प्रवित्ती हो, प्रचण्ड आफै दर्शन वा सिद्धान्त हो, प्रचण्ड आफै पथ हो, पार्टी हो, संस्था हो !

नेपालको राज्य व्यवस्थाका विरुद्ध इतिहासमा पहिलो पटक प्रचण्डको नेतृत्वमा परिवर्तनका खातिर दशवर्ष जनयुद्ध भयो, हजारौंले बलिदान गर्नु पर्‍यो र बलिदान गर्न  तयार भए, हजारौं व्यपत्ता हुनु पर्‍यो र व्यपत्ता हुन तयार भए, हजारौं अङ्ग भङ्ग हुनु पर्‍यो र लाखौं जनता जनयुद्ध  बाट प्रभावित हुनु पर्‍यो, म आफै पनि  द्वन्द्व पीडित हुँ र जनयुद्धको भुत्तभोगी !

मैले पनि परिवारको सदस्य गुमाउनु पर्‍यो जनयुद्धको क्रममा तर पनि मलाई जनयुद्ध देखि पिडा भन्दा धेरै गौरव लाग्छ र प्रचण्ड प्रति पनि त्यत्तिकै सम्मान छ किनकि मेरो दाइ जस्ता हजारौं योद्धा परिवर्तनका निम्ति  जनयुद्धमा सहिद हुन तयार नभएको भए, आज यो परिवर्तन संम्भव थिएन  ! त्यसैले  १७ हजार मान्छे मार्ने प्रचण्ड भनेर आरोप लगाउने परिवर्तन विरोधी यथास्थितिवादीहरुलाई प्रश्न गर्न मन लाग्छ, नेपाली जनताहरु यदि यी सबै गर्न, मार्न र मार्न तयार नभएको भए, त्यसको नेतृत्व प्रचण्डले गर्न तयार नभएका भए आज गणतन्त्र आउने थिएन, यी सबै खाले राजनीतिक परिवर्तन संम्भव थिएन ।

गणतन्त्र असम्भव देख्ने र बारम्बार बैलगाढा चढेर अमेरिका जानु र गणतन्त्र आउछ भन्नू उस्तै हो भन्ने केपी शर्मा ओली आफै आज संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री छन् । संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री केपी ओली आफ्नो  क्षमताले  बनेका प्रधानमन्त्री होइन, उनी प्रचण्डले ल्याएको गणतन्त्रात्मक राज्यव्यवस्थाका कारण प्रधानमन्त्री भएका हुन् , त्यस कारण म ठोकुवाका  साथ भन्न सक्छु प्रचण्ड आफै आन्दोलन हुन्, परिवर्तन र  नेपाली राजनीतिका उपलब्धि हुन् ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एकतामा प्रचण्डले देखाएको त्याग, र एकता जोगाउन प्रचण्डले गरेको समर्पण विश्व राजनीतिले सिक्ने महत्त्वपूर्ण पाठ हो भने दरिलो उदाहरण हो।  दरबार हत्याकाण्ड, दास ढुङ्गा जस्ता विभिन्न घीन लाग्दो नेपाली राजनीतिक संस्कार बाट आफुलाई अलग्याएर प्रचण्डले नयाँ राजनीतिक संस्कार स्थापित गरेका छन् , भन्ने कुराको तथ्य र प्रमाण, दुई वर्षमा आलोपालो गरि सञ्चालन गर्ने भनिएको सरकारको नेतृत्व पुरा पाँच वर्ष प्रधानमन्त्री ओलीलाई सञ्चालन गर्न सहमति दिनु, कार्यकारी अध्यक्ष आफू भएर पनि प्रधानमन्त्री ओली र आफ्नो  पार्टी भित्रको हैसियत एउटै हो भन्नू  र एकता जोगाउन अर्का अध्यक्ष प्रधानमन्त्री ओली सग जुनसुकै सम्झौता र सहमति गर्न तयार हुनु  प्रचण्ड  नेपाली राजनीतिको दुर्लभ तर विकसित राजनीतिक संस्कार हुन् भन्ने कुराको तथ्य र पर्याप्त प्रमाण हुन् ।

हामिले पहिले भोगेको राज्य व्यवस्था भनेको संवैधानिक राजतन्त्र।जहाँ कुनै एउटा शाह वंशिय राजा रहने र भगवानको रुपमा मान्ने हाम्रो चलन थियो। राजा भनेका देउता हुन्,राजाको कुरा काट्नु हुन्न।राजाका नकारात्मक विषयलाई समेत विरोध नगरी जय जयकार मात्र गर्नु पर्दछ भन्ने थियो।

राजा नहुने हो भने नेपाल देश रहदैन भन्ने मानसिकता आम सर्वसाधारण नागरिक देखी राजनिति गर्ने राजनैतिककर्मी सम्म यही भ्रम थियो। यहि भ्रमको गुम्राहामा बसेर नेपाल र नेपालीलाई चुस्न माहिर हरुकै राज चल्थ्यो र चलाईन्थ्यो। राज्यका सम्पुर्ण शक्ति राजामा निहित रहन्थ्यो। राजाले चाहेमा,सनक चढेमा अप्रत्यासित घटनाहरु समेत व्यहोर्न वाध्य पारिन्थ्यो। यहि व्यवस्था,अर्थात कुनै एउटा परिवारको जेठो सन्तानले सदैव राज्य चलाउने र ऊ राजा बनिरहने परम्परा तोड्ने र क्रम भंगता प्रचण्डले सुरु गरे।

गणतन्त्र र समसामयिक जनजिविकाको सवाल उठान सहित अगाडी वढ्दै गर्दा त्यो शक्तिलाई हरेक क्रियाकलापमा बन्देज लगाईयो। एकातर्फ माओवादीले राता रात सङ्गठन विस्तार, जनजागरण, प्रचारप्रसार गर्दै थियो भने अर्को तर्फ तत्कालिन संसदिय व्यवस्थाका राजनैतिक दलको सरकारले माओवादीलाई खोजी खोजी पक्राउ,धरपकड र हत्यासम्म केन्द्रित थियो।
तत्कालिन कङ्ग्रेश,एमाले लगाएतका राजनैतिक दलहरु संवैधानिक राजतन्त्र जोगाउने पक्षमा माओवादीप्रति आक्रामक देखिन्थे र त्यही अनुरुप सरकारी गतिविधि अगाडी बढाउँथे।

यति सम्म गरे कि जसले माओवादीको टाउको काटेर झोलामा ल्याउछ,उक्त झोला भरी पैसो लान पाउछ भन्दै प्रत्येक माओवादीको टाउकाको मुल्य तोक्ने तिनै राजतन्त्रका पक्षधर राजनैतिक दलनै थिए। राजाको विश्वास पात्र हुदै प्रधानमन्त्री र मन्त्री बन्ने अनि माओवादी माथि आक्रमण गराउने तत्कालिन राजनैतिक दलको दिनचर्या नै थियो।

प्रचण्डले गणतन्त्र प्राप्तिको निमित्त आफ्नो महान अभियान जारी नै राखिरहे । हो त्यो महान अभियान अगाडी वढाउँदै गर्दा हजारौले राष्टको निमित्त वलिदानी दिनु पर्यो,कयौको काख रित्तिए त कयौ टुहुरा बने,तर गणतन्त्र प्राप्त गरेका छौ। यो गणतन्त्र प्राप्त गर्नको निमित्त मुख्यतया दश वर्षे जनयुद्ध,२०६२/६३ को जनआन्दोलनको जगमा भएका विभिन्न सम्झौता र समझदारी मुख्य पाटा हुन्।

यि त भए सामान्य मोटामोटी विषयवस्तु अब यो गणतन्त्र स्थापना गर्नुमा सबभन्दा वढि सक्रिय,चतुर र योगदान गर्ने व्यक्ति प्रचण्डको केही व्याख्या गरौँ। त्यो महान जनयुद्ध,जहाँ सामन्ति राजतन्त्रको समुल नष्ट र गणतन्त्रको स्थापनाको सपना बाडिएको थियो।
जुन समयमा राजाको विरुद्ध बोल्दा समेत राज्य विप्लवको मुद्दा खेप्नु पर्दथ्यो। त्यो बेलामा सामन्ति राजतन्त्रको विरुद्ध हतियार उठाउने पार्टी माओवादीका अध्यक्ष थिए प्रचण्ड यानि कि प्रमुख नेतृत्व। त्यो बेलामा नेपालका क्रियाशिल कुनै पनि राजनैतिक दलले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको विषयमा सोचेका समेत थिएनन्।

तर तिनै प्रचण्ड हतियार सहित गणतन्त्र ल्याउनको निमित्त जनयुद्धमा होमिए।व्यक्तिगत धनसम्पत्ति, आराम,विलासिता यी सम्पुर्ण चिज त्याग्दै समग्र नेपाल र नेपालीको भविष्य उज्वल पार्ने महान अभियानमा केन्द्रित हुन पुगे। गणतन्त्र स्थापनाको निमित्त अगाडी बढ्दै गर्दा तत्कालिन राज्यपक्षले माओवादी र त्यसको नेतृत्वलाई निस्तेज पार्न सम्पुर्ण हत्कन्डा जारी नै राखिरहयो।

तर प्रचण्ड कत्ति पनि विचलित र तोडमोड नभई आम जनतालाई सुसुचित,सङ्गठित र चेतनशिल बनाउदै निरन्तर आफ्नो यात्रामा केन्द्रित रहे। राज्य पक्षले ठुलै रुपले दमनको निति अख्तियार गरे पछाडी प्रचण्ड नेतृत्वको माओवादीले समेत गाउँ-गाउँ,वस्ति वस्तिबाट राज्यपक्षको प्रतिकारमा उत्रियो।

कयौँ घमासान आम्मेसाम्मे भिडन्तहरु भए,धेरैले ज्यान गुमाउनु पर्यो, सिउदो पुछिए,काख रित्तिए,घरवार विहिन हुन पुगे। दिन दुगुणा,रात चौगुणा जसरी माओवादीप्रती जनसमर्थन बढि नै रहेको थियो। यसै क्रममा तत्कानिल राज्य पक्षको उपस्थिति खुम्चिदै गाउबाट सदरमुकाम, सदरमुकामबाट शहरमा मात्र भएको थियो। यो परिस्थिति सृजना गरि सके पछाडी अताल्लिएको तत्कालिन सरकार र क्रियाशिल राजनैतिक दल अब माओवादीसँग सकिदैन भन्ने अन्तिम निष्कर्षमा पुगे।
फलस्वरुप तत्कालिन कङ्ग्रेस,एमाले लगाएतका राजनैतिक दललाई समेत जवरजस्त गणतन्त्र,  संविधानसभा निर्वाचन,धर्म निरपेक्षता लगायतका मागमा सहमतिमा प्रचण्डले ल्याउन सफल भए। त्यसैले प्रचण्ड नेकपाका अर्का अध्यक्ष मात्र होइनन्, प्रचण्ड आफै विचार हो, पथ हो, पार्टी हो, संस्था हो !

लेखक श्याम रोक्का नेकपा निकट अनेरास्ववियू केन्द्रिय  सदस्य हुन् ।

५ साउन २०७७, सोमवार १८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु