भाइरल भिडियोः ‘भ्याक्सिन क्यारियर’ बोकेर बाढी तर्दै गरेका स्वास्थ्यकर्मी कहाँ जाँदै थिए, को–को हुन्?

8.98K
shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा दुई जना स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेका देखिन्छन्। अर्का व्यक्तिले सहयाेग गरिरहेका छन्।
खोलामा पानीको बहाव बढेको छ। उनीहरु खोला तर्ने कोशिस गरिरहेका छन्।

महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन्। उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्।

उक्त भिडियोले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ।

कोरोनाको कहरमा मात्र होइन, हरेक वर्ष आउने प्राकृतिक विपद्मा पनि नेपाली स्वास्थ्यकर्मीले जोखिममै रहेर स्वास्थ्य सेवा दिइरहेको सो भिडियोले पुष्टि गरेको छ।

उक्त भिडियो बराहताल गाउँपालिका सुर्खेतको हो।

हरेक महिनाको पहिलो साता नियमित खोप कार्यक्रम सञ्चालन हुन्छ।

भिडियोमा देखिएका स्वास्थ्यकर्मी सोही गाउँपालिका वडा नम्बर १ सुगुरखालमा नियमित खोप कार्यक्रम सम्पन्न गरी फर्किंदाको हो।

भिडियो खिच्ने पनि स्वास्थ्यकर्मी नै हुन्। उनले आफ्ना सहकर्मीहरु तर्न लागेका समयमा भिडियो खिचेकी थिइन्। त्यो पनि टिकटकमा राख्नका लागि।

उक्त दिनको घटनाबारे हामीले ती स्वास्थ्यकर्मीसँग कुराकानी गरेका छौँ। हामीले फोन गर्दा अहेब चन्द्रकिरण थापा र अनमी लक्ष्मी गौतम बराहतालकै वडा नम्बर २ पाग्मामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै थिए।

सविना शाही ठकुरी, अनमी

म एक वर्षदेखि करारमा बराहताल गाउँपालिका तेलपानीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत छु। नियमित खोप कार्यक्रम चलिरहेकाले साउन ५ गते बिहान सात बजे गाउँपालिकाकै वडा नम्बर १ सुगुरखाला जान निस्क्यौँ। सुगुरखालमा नयाँ खोप केन्द्र बनाइएको हो।

वडा नम्बर २ हरिहरपुर स्वास्थ्य चौकीमा कार्यरत अहेब दाइ चन्द्रकिरण थापा र अनमी दिदी लक्ष्मी गौतम, सहयोगी अर्जुन डाँगी दाइ र म दिउँसो १ बजेपछि मात्र सो ठाउँमा पुगेका थियौँ।

बिहान निस्कँदा पानी परेको थिएन। सो वडामा ७ जना बालबालिकालाई खोप लगाएर हामी साढे २ बजेतिर फर्किन लागेका थियौँ।

तर, फर्किंदा निकै ठूलो पानी पर्‍यो। त्यहाँ बस्न मिल्ने अवस्था पनि थिएन। हामीले लगाएका कपडा पनि भिजेको थियो। भोलिपल्ट अर्को वडामा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले पनि बस्न मिलेन। बराहताल गाउँपालिका निकै विकट गाउँपालिका हो।

हामी आइपुग्दा त खोला निकै बढेको थियो। चन्द्र सरले आफू गएर तर्न सकिन्छ भनेर हेर्नु भयो। अनि लक्ष्मी दिदीलाई तार्न लाग्दा मैले भिडियो लिएको हो।

मैले यत्तिकै टिकटकको ड्राफ्टमा रहेको गीतमा त्यो १५ सेकेन्डको भिडियो खिचेको हो। दिदी तरेपछि म खोला तरेर पारि गएँ। दिदी र सर वीरेन्द्रनगर जानुभयो। तेलपानी कोठामा राति साढे सात बजे पुगें। खाना खाएर १० बजेतिर त्यो भिडियो पोस्ट गरेको भाइरल नै भएछ।

यतातिर अरु बेलामा पनि पानी परिरहन्छ। खोला यस्तै उर्लिन्छ। तर काम पनि गर्नुपर्‍यो। जिम्मेवारी नै यही हो। हामीले काम नगरे बालबालिकाको भविष्य नै अस्वस्थ हुन्छ। नियमित खोप कार्यक्रम रोक्न पनि मिल्दैन। त्यसैले गाह्रो भए पनि जिम्मेवारी पूरा गर्न दिनरात, बर्खा जतिबेला पनि खट्नैपर्छ।

तेलपानी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले अरु बेलामा पनि हिँड्न जोखिम नै हुन्छ।

चन्द्रकिरण थापा, अहेब, हरिहरपुर स्वास्थ्य चौकी

बराहताल गाउँपालिका हरिहरपुर स्वास्थ्य चौकीमा समायोजन भएर गत असोजमा आएको हुँ। साउन ५ गते हामी सुगुरखाल गएका थियौँ। बराहतालको १ नम्बर वडा लेकमा पर्छ। त्यहाँ पुग्न पाँच घन्टा हिँड्नुपर्छ।

नयाँ थपिएको स्वास्थ्य केन्द्र भएकाले २ जना सिस्टर, म अनि बाटो देखाउन अर्जुन डाँगी भाइलाई लगेका थियौँ। फर्कंदा पानी ठूलो परेको थियो।

त्यो त भिडियो बनाएको एउटा खोला मात्र हो। यस्ता अन्य ४ वटा खोला तरेका थियौँ। सविना सिस्टरले भिडियो राखेपछि भाइरल भएको रहेछ। परिवार कल्याण महाशाखाका खोप प्रमुख डा झलक गौतम सरले फोन गर्नुभएको थियो।

कर्णाली प्रदेशको सामजिक विकास मन्त्रालयबाट, अन्य साथीभाइले समेत फोन गर्नुभयो।

त्यो भिडियो यत्तिकै खिचिएको थियो तर त्यसले दुर्गममा बसेर स्वास्थ्य सेवा दिइरहेका अन्य स्वास्थ्यकर्मीको पनि प्रतिनिधित्व गरेको छ जस्तो लाग्यो।

सबैले निकै प्रशंसा गरेर फेसबुकमा म्यासेज पठाउनुभएको छ। त्यसले आफ्नो पेसाप्रति झन् सम्मान बढाएको महसुस भइरहेको छ।

समायोजन गर्ने बेलामा स्वास्थ्यकर्मीलाई विभेद गरिएको छ। निजामती सेवाका कर्मचारीलाई एक तह बढाएर समयोजन गरियो तर हामीलाई त्यसो गरिएन। एउटै पद भए पनि हामी र उनीहरुबीच विभेद छ।

तर, पनि हामीले हाम्रो कर्तव्य पूरा मन लगाएर निर्वाह गरेका छौँ।

लक्ष्मी गौतम, अनमी, हरिहरपुर स्वास्थ्य चौकी

म हरिहरपुर स्वास्थ्य केन्द्रमा २ देखि कार्यरत छु। त्यो दिन फर्कंदा ठूलो पानी परेको थियो। पानीसँगै हावा पनि चलेकाले छाता ओड्दा पनि हामी भिजेका थियाँै।

अरु ४ वटा यस्तै खोला तर्दै आएकोले त्यो खोला तर्दा मैले लक्ष्मी बहिनीलाई भने, ‘एउटा भिडियो बनाउनु न, खोला तर्दा बगाएछ भने पनि अरुलाई हेर्न सम्झना हुन्छ।’

त्यही भएर बहिनीले भिडियो बनाउनुभयो। मैले झोला र भ्याक्सिन क्यारियर पनि बोकेको थियो। पानीले भ्याक्सिन क्यारियर तल तिर तान्थ्यो। त्योबेला निकै डर लागेको थियो।

जाँदा–आउँदा १० हिँड्दा खुट्टा सुन्निएको छ। औंलामा चोट लागेको छ। मैले त त्यो भिडियो अस्ति मात्र हेरेको हुँ। मेरो ८ वर्षको छोरो भिडियो हेरेर डराएछ, ‘मम्मी अबदेखि पानी परेको बेला कतै नजानु भनेर रुँदै थियो। छोरी २३ महिनाकी छिन्। त्यसैले पनि खोला तर्दा डर लाग्यो।’

पछि भिडियो भाइरल भएपछि सबैले कामको प्रशंसा गर्दा त निकै खुसी लागेको छ। भिडियो हेर्दा गौरव महुसुस भइरहेको छ।

हेरौं भिडियो :

https://www.facebook.com/gbk2053/videos/2747333982257426/?t=13

स्थास्थ खबरपत्रिकाबाट !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083