कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा
वि.सं.२०७७ साउन २१ बुधवार ११:२०
shares

काठमाडौं । कोरोना संक्रमणको बढ्दै गएपछि काेराेना फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
सरकारले संक्रमणको अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको बताए ।
उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।
‘मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी छ, केही जिल्लामा जिल्लाभर निषेधाज्ञा छ, केहीमा अवस्था हेरेर क्षेत्र छुट्याएरै निषेधाज्ञा लागू गरिएको छ ।
सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।
‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ।
संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।
मंगलबार साँझसम्म मात्रै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् ।































