” कमरेडहरु प्रचण्ड सडकमा पुगेका होईनन् ,जनताकाबिच पुगेका हुन्”

Nepal Life Insurance Long Ad

यति बेला सडक तातेको छ नेपाली राजनिति माहोल परीवर्तन भएको छ , नेकपा भित्र एक पछि अर्को गर्दै विवाद निम्ती रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र दुई ओटा समुह देखा परेको छ प्रचण्ड माधव समुह र केपी ओली समुह यि दुई ओटा समुहहरु रहेका छन् । प्रचण्ड माधव समुहले देशब्यापी रुपमा केपी ओली विरुद्ध बृहत जनप्रर्दशन गर्न थालेका छन् ।

साँच्चै राजनीतिक भाइरसको अगाडि यो जैविक कोरोना भाइरस सानो  हुँदो रहेछ। कोरोनाभाइरस त खारेज पो हुँदो रहेछ। सामाजिक दूरी कायम त्यतिबेलासम्म रहने रहेछ, जतिबेलासम्म मन स्थिर रहन्छ। एकबारको जुनीमा मन अस्थिर होस् त, मेरा बाबै मान्छे मर्नदेखि नडराउने रहेछ। मास्कको कुरा त के गर्नु, कोहीले चिउँडोमा मास्क लगाएका छन्, कोहीले कुहिनामा मास्क अड्काएका छन्। कोहीले त बालै नदिएर मास्क खल्तीमा राखेका छन्।

कतिपयले यति बेला सामाजिक सञ्जालमा  अब प्रचण्डलाई जंगलतिर नै पठाउनुपर्छ भन्न भ्याएका  छन्। प्रधानमन्त्री केपी ओलीतर्फका नेता कार्यकर्ताहरूले हर्षोल्लासका साथ  प्रचण्डको हैसियत यही नै हो भनेर व्यंग्य गर्ने गरेका छन्। तर गम्भीर रूपमा याद गर्नुपर्ने कुरा नेपालमा प्रजातन्त्र सडककै शक्तिबाट आएको हो। लोकतन्त्र, गणतन्त्र जेसुकै भन्नुहोस्, त्यो पनि सडक संघर्षबाटै आएको हो। यसकारण प्रचण्ड सडकमा हुनुको ठूलो राजनीतिक पराकम्प छ।

हुँदाखाँदाको आफ्नै पार्टीको सरकार छाडेर  प्रचण्ड एकाएक किन सडकमा आए त ? उनलाई किन सडक नै प्यारो भयो त ? उनलाई किन जनता नै प्यारो भयो त ? उनलाई किन संविधानको सर्वोच्चता नै महत्त्वपूर्ण भयो त? उनी किन फेरि एकपटक संविधानको वैचारिक पक्षधरतामा उभिए त? यसबारे धेरैलाई मतलब छैन। केबल उनीहरू प्रचण्ड हिजो जंगल पसेको देख्छन्, आज सडकमा बसेको देख्छन् । राजनीतिक स्वतन्त्रता, सार्वभौम जनताको सत्ता र जनताको आफ्नै राज्य निर्माण गर्न सक्ने राजनीतिक प्रणालीलाई  कहिल्यै  देख्दैनन्। जस्तो कि सानो बच्चाले चकलेट निकै मीठो मानेर खान्छ तर त्यो चकलेट कुन दुस्ख र संघर्षले आमाले किनेर ल्याएको हो, त्यो उसलाई थाहा हुँदैन ।

अब सडकबाट संविधानको सर्वोच्चताको पक्षमा आवाज उठाउनु  आवश्यक भएको  छ, र यो राजनीतिक मामला मात्र हैन। सडकमा हेर्नुहोस्, नागरिक समाज उपस्थित छ। पत्रकार, लेखकहरू उपस्थित छन्। पूर्व राष्ट्रपतिदेखि पूर्व न्यायाधीशहरूसम्मले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भनिरहेका छन्। यो देशको जीवनसँग गाँसिएको कुरा हो, प्रचण्डको राजनीतिक विषय मात्र हैन। हाम्रो भविष्यको कुरा हो । स्वतन्त्रताको कुरा हो । संविधानको सर्वोच्चताको कुरा हो। लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनमा को जाँदैन र? सबै जान्छन्। तर मान्छे मरेको घरमा बाजा बजाउन त मिल्दैन। असंवैधानिक संसद् विघटनको आलोचना नगरी फेरि संसदीय निर्वाचनकै कुरा गर्न त मिल्दैन।

मानिसहरूलाई लागेको होला प्रचण्ड अब सकियो, प्रचण्डको अब दिन गयो, तर यसो होईन प्रचण्ड एक दिन फेरी पनि देशको क्रान्तिकारी कमाण्डर बन्ने छन् । संविधानको सर्वोच्चताका निम्ति प्रचण्ड फेरि एकपटक आफू सहित ७० प्रतिशतको शक्ति लिएर संवैधानिक सर्वोच्चता र जनताको जनजीविकाका प्रश्नहरूलाई लिएर सडकमा उभिएका छन्। हिजो जंगलमा, अनि सदनमा हाल सडकमा । यो प्रचण्डको राजनीतिक परीक्षा निकै संघीन अवस्थामा उभिए जस्तो देखिए पनि कमरेडहरू यो प्रचण्डको क्रमभंगता हो । कमरेडहरू अब फेरी ठुलो चमत्कार हुँदैछ ।

लडाईंको मैदान कहिले सहज हुन्छ, कहिले असहज । कहिले सजिलो त कहिले गाह्रो । कस्तो मैदानमा भाग लिने भन्ने हो। कसरी भाग लिने भन्ने हो । जनयुद्धकालीन प्रचण्डका केही शब्दहरू निकै लोकप्रिय थिए। परन्तु त्यो आज पनि छ। उनले कैयौं यस्ता शब्दहरू राजनीतिकर्मीका लागि थेगोकारूपमा स्थापित गरिदिएका छन्।

अब चमत्कार भएरै छाड्छ । संसद्  पुनस्स्थापनाको विकल्प छैन। यो राजनीतिक कोणको कुरा भयो । यदि संसद् पुनस्स्थापित भएन भने के हुन्छ ? हो त्यहाँ चमत्कार हुनेछ । फेरि जनताको बीचमा जाने भन्ने हुन्छ । जनताका बीचमा आफ्ना स्पष्ट दृष्टिकोण बोकेर जाने हुन्छ । एकपटक संविधानको रक्षक प्राप्त उपलब्धिहरूको रक्षाका लागि शान्तिपूर्ण राजनीतिक, वैचारिक संघर्ष गर्नुपर्ने हुन्छ । प्रचण्डको अर्को नाम हो- संघर्ष । हो अब संघर्ष जारी रहन्छ ।

हामीले पनि त्यस्तै भन्यौ कि प्रचण्डले धोका दिए भनेर तर नेतृत्वको दिमागमा सय वर्ष अगाडि हैन सय वर्ष पछाडिसम्मको विश्लेषण हुने रहेछ । प्रचण्डले कसैलाई धोका दिएका छैनन्, प्रचण्डको बेगसँग चल्न नसक्नेहरू आफैँ धोका खाएका छन् । यो पटक प्रधानमन्त्री कपी ओलीले धोका खाएका छन् ।

हो प्रचण्ड अहिले सडकमा छन्। आफ्नै जोडबलमा निर्माण भएको संविधानको सर्वोच्चतामा समस्या र त्यसको कार्यान्वयनमा अवरोध हुन थालेपछि उनी सडकमा उभिएका छन्। उनीसँगै हजारौ कार्यकर्ता र लाखौं जनताहरू सडकमै उभिएका छन्। पक्कै पनि आफूले जन्माएको बच्चाको धेरै माया लाग्छ, संविधान कुल्चिँदा सबैभन्दा पीडा यतिखेर प्रचण्डलाई नै परेको छ ।

पक्कै पनि पूर्व एमाले र पूर्व माओवादीको पार्टी एकतापश्चात जनतामा धेरै आशा, अपेक्षाहरू पलाएका थिए । प्रधानमन्त्री केपी ओली समेतले जनतालाई धेरै सपनाहरू देखाएका थिए । तर त्यो सपना अपुरो हुँदै गर्दा पार्टी नै फुटेको छ । पार्टी फूटसँगै जनताको सपना चकनाचुर भएको छ । यो कम्युनिस्ट आन्दोलनका लागि पक्कै पनि राम्रो संकेत हैन । प्रचण्ड सडकमा उभिनुको ठूलो अर्थ छ। घोचपेच आफ्नो ठाउँमा छ, तर यो विचारको प्रश्न हो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र यसको विचारको प्रश्न हो।

प्रधानमन्त्री केपी ओलीले जनतालाई धेरै सपना देखाए । र यो साढे दुई वर्षको बीचमा आखिरी जनजीविकाका प्रश्नहरूलाई हल गरे त रु अहँ गरेनन्। पूर्व पश्चिम चुच्चे रेलको यात्रा गर्न नपाउँदै, चुलाचुलामा ग्याँसको  पाइप लाइन जडान हुन नपाउँदै उनले संविधानमाथि आक्रमण गर्न थालेका छन् । खासमा भ्रष्टाचारसँग युद्ध लड्नु पर्ने थियो । गरीबी, बेरोजगारी, भोक, रोग अनि शोकसँग युद्ध लड्नुपर्ने थियो, तर शासक आफ्नै नेता कार्यकर्तासँग घनिभूत युद्ध लडि रहेको छ।

तर लोकतन्त्रप्रेमी जनतालाई न्यायलयप्रति भरोसा छ । अब संविधानको अन्तिम व्याख्याता सम्मानित न्यायालयले के भन्छ, त्यो भने पर्खेर हेर्नुपर्ने भएको छ । तर पर्खेर हेरेर मात्र पनि हुँदैन । जनताको राजनीतिक आत्मनिर्णयको अधिकार सडकमा हुन्छ । सडकले न्यायालयको विषयवस्तु  फैसला  त गर्दैन, तर राजनीतिक, वैचारिक स्पष्टताको न्यायालय भनेको सडक नै हो । संविधानको रक्षा होस् भनी सडकबाट आवाज उठाउनु आफैँमा संवैधानिक, राजनीतिक दुर्घटनाको उपज हो ।

लेखक : भुमिराज अधिकारी अनेरास्ववियूका नेता हुन् ।

१७ पुस २०७७, शुक्रवार १४:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु