“प्रधानमन्त्री ओलीलाई पदमा बस्ने छुट छैन, तत्काल राजीनामा देउ!” -वामदेव गौतम
वि.सं.२०७७ फागुन १२ बुधवार १०:०४
shares

काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गर्ने निर्णय पछि तटस्थ रहँदै आएका गौतमले आफू पार्टी एकताकै पक्षमा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने र दुवै अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउन पनि माग गरेका छन्।
उपाध्यक्ष गौतमले प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको स्वागत गर्दै तीनबुँदे माग पनि राखेका छन्।
यस्तो छ उनको विज्ञप्ती
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ।
आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु स्
१.सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनु पर्छ।
३. नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क.केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।


















