एमालेको उपहार : ‘मस्ट वाण्टेड’ लाई मन्त्री पद !

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’

Nepal Life Insurance Long Ad

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्। ०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागिरी सुरु भएको थियो। हप्ता असुली, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा बन्यो।

उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्याङ फाइट’ पर्ने गरेको थियो। ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो।

२०७६ माघ ७ मा उनले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनमा उनले मिलनलाई मुक्का प्रहार गरेका थिए । मिलनले मनाङेविरुद्ध माघ ८ मा मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएपछि माघ ९ मा कास्की प्रहरीले पोखराबाट मनाङेलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

उनी ६ हजार रुपैयाँ धरौटी बुझाएर माघ १२ मा रिहा भएका थिए । प्रदेश सभाको अर्थ तथा विकास समितिको सदस्य रहेका उनले गत वर्ष असार ८ मा समितिमा राजीनामा बुझाएका थिए । २०७४ असोजमा उनी एमालेमा प्रवेश गरेका थिए । सुरुमा एमालेबाट प्रदेशमा उम्मेदवारसिफारिस भए पनि टिकट नपाएपछि उनी स्वतन्त्र उठे ।
२०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो।

सो आक्रमणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरुद्ध मुद्धा दायर भएको थियो। २०६९ सालमा मनाङेबाहेक उनीहरूले सफाइ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जेलबाट पनि गुन्डागर्दी गरेको, ठेकेदारहरूसँग पैसा असुल गरेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।

०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो। विभागले मनाङेसँग अवैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेर मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले २०७४ माघमा राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । उनले अभियुक्तकै रूपमा प्रदेशसभा चुनाव लडेका थिए । त्यसबेला एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको थियो । निर्वाचित भएपछि अदालतले जेल सजाय सुनाएकाले उनी केही समय फरार रहेका थिए । उनलाई २०७५ वैशाखमा पक्रेर जेल चलान गरिएको थियो । त्यसपछि करिब ८ महिना जेल बसे । ५ वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गर्दै उनी जेलबाट छुटे ।

ज्यान मार्ने उद्योगमा उनलाई जिल्ला अदालतले दुई वर्ष, पुनरावेदन (हाल उच्च) अदालत पाटनले ५ वर्ष जेल सजायको फैसला गरेको थियो । अरू मुद्दा नभए जेलबाहिरबाटै मुद्दा लड्न पाउने सर्वोच्चको आदेशपछि उनी २०७५ पुस ६ मा जेलबाट छुटेका हुन् । २०७५ माघ १४ मा उनले प्रदेश सांसदको शपथ लिएका थिए । गुन्डा नाइके मिलन गुरुङ ‘चक्रे’ लाई खुकुरी हानेको विषयमा राजीव गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै उनलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो । कुटपिटभन्दा पनि ज्यान मार्ने नै उद्योग भन्दै सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटनमा पुनः मुद्दा दर्ता गरेको थियो । पाटन अदालतले २०६९ मा ज्यान मुद्दा ठहर गरेको थियो ।

राजीव गुरुङ २०७३ पुस २८ गते राप्रपामा प्रवेश गरेका थिए । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको राप्रपा जिल्ला अध्यक्ष पनि बनेका थिए । १५ करोड रुपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दासमेत हालेको थियो । पछि उनले सफाइ पाए । चक्रे मिलनलाई खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा उनी २०६० पुस ११ गते पक्राउ परेका थिए । सोही आरोपमा जेल बसेर छुटेका गुरुङ २०६५ फागुन र २०७० फागुनमा पुनः पक्राउ परेका थिए । २०७० मा नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेर उनी १ वर्ष ६ महिना जेल बसेर छुटेका थिए ।

१७ वैशाख २०७८, शुक्रवार १४:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु