अन्तरक्रिया एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठकाे प्रमुख आतिथ्यता , प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
“सेवा प्रवाह तथा शान्ति-सुरक्षा र अपराध नियन्त्रण लगायत विषयमा अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम” मा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराधको वर्तमान अवस्था, सुरक्षा चुनौति र समाधानका लागि आवश्यक समन्वयका विषय र क्षेत्रहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
प्रस्तुतीकरणकै क्रममा एसएसपी खनालले अपराध रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सुरक्षा सतर्कताको बारेमा समेत प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उप-प्रमुख, महालक्ष्मी नगरपालिका अन्तर्गत वडाका वडा अध्यक्षहरु, प्रहरी प्रभाग इमाडोलका प्रमुख, प्रहरी चौकी टिकाथलीका प्रमुख, प्रहरी प्रभाग लुभुका प्रमुख लगायत अन्य सरोकारवाला निकायका पदाधिकारीहरु समेतको उपस्थितिमा अन्तरक्रिया तथा छलफल भएको थियो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकले सामाजिक विकृति, विसङ्गति न्यूनीकरण गर्न तथा अपराधमुक्त र भयरहित समाज निर्माण गर्नको लागि महालक्ष्मी नगरपालिकासङ्ग ललितपुर प्रहरीले गरेको अपेक्षाको बारेमा समेत चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुले शान्ति सुरक्षा कायम गर्न तथा अपराध रोकथाम र नियन्त्रणको लागि जुनसुकै सहयोग गर्न तत्पर रहेको कुरा बताउनु भएको थियो ।
२० माघ २०८०, शनिवार २२:०६ बजे प्रकाशित