प्रहरी चौकी हाटिबनगाई रुपन्देहीमा अवस्थित निर्मित भवनकाे समुद्घाटन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा प्रहरी चौकी हाटिबनगाई रुपन्देहीमा निर्मित भवनहरुकाे समुद्घाटन भएकाे छ ।

रुपन्देही जिल्ला मायाँदेवी गाउँपालिका वडा नं. ६ दुर्गौलिया अवस्थित प्रहरी चौकी हाटिबनगाईको नवनिर्मित कार्यालय भवनहरूको समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथी ज्यूहरुबाट नवनिर्मित भवनहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै कार्यालय परिसरमा प्रमुख अतिथि , विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य वसी उद्दीन खाँ , पूर्व कृषी मन्त्री ओम प्रकाश यादव तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतद्वारा वृक्षरोपण गर्नु भयाे ।

कार्यक्रममा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले चौकी स्थापनाको लागी जग्गादान गर्नुहुने रामवृक्ष यादव, राम नारायण यादव, नाथु थापा मगर लगायत भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले प्रहरी ईकाईहरुमा कार्यालय/व्यारेक तथा मेश भवनहरुको निर्माणबाट प्रहरीद्वारा नागरिकका लागी प्रवाह गर्ने सेवा सहज पहुँच योग्य हुने, भौतिक पुर्वाधारको राम्रो व्यवस्थाबाट प्रहरी कर्मचारीहरुमा काम गर्ने उर्जा र हौसला थपिने बताउँदै प्रहरीले सदैव नागरिक मैत्री भई जनताको जीउधनको रक्षा गर्न, मानव अधिकारको सम्मान एवम संरक्षण गर्दै शान्ति, सुरक्षा अपराध नियन्त्रण रोकथाम एवम अनुसन्धान, विपद उद्धार लगायतको काम गर्न निर्देशन दिनुभयो ।

प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले यस प्रहरी चौकीको भवन निर्माण सम्पन्न भई समुद्घाटन भए सँगै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसङ्गति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा गर्नेमा समेत यस चौकीले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको र प्राविधीक प्रहरी नायव उपरीक्षक ई.रोशन सारू मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेश सरकारको नियमित बजेटबाट कुल १ करोड ८२ लाख ६७ हजार ८० रूपैयाँ २५ पैंसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।

समुद्घाटन कार्यक्रम समारोहमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवर, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानिय जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, विभिन्न संघ सँस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, संचारकर्मी लगाएतकाे उपस्थिति रहेको थियो ।

२४ फागुन २०८०, बिहीवार १८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु