अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन आईजीपी कुँवरको निर्देशन
वि.सं.२०८० चैत १० शनिवार ११:५३
shares

नवलपरासी । प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पुगेर प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन दिनु भएको छ ।
आईजीपी बसन्त कुँवरले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनु भयो ।
उहाँले हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताउनु भयो ।
































