“नेपाल प्रहरीको चालु आर्थिक बर्ष, २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको समीक्षा तथा आगामी आर्थिक बर्षको तालिम क्यालेण्डर तर्जुमा गोष्ठी” कार्यक्रम सम्पन्न

काठमाडौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरीको चालु आर्थिक बर्ष, २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको समीक्षा तथा आगामी आर्थिक बर्ष २०८१/०८२ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा संचालन भएको उक्त कार्यक्रममा निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षले प्रस्तावित तालिम क्यालेण्डरले TNA गरी प्राप्त तथ्यांकको बिश्लेषण,संगठनको आवश्यकता,प्रहरी कर्मचारीको वृत्ति विकास,प्रशिक्षण केन्द्रहरुको क्षमता र जनशक्ति, तालिम औचित्यता पुष्टि सहितको बिश्लेषण,अध्ययन तथा छलफलबाट प्रस्तावित तालिम कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्दै नेपाल प्रहरी संगठनको उद्देश्य तथा लक्ष्य हासिल गर्न सक्ने योग्य एवं कुशल प्रहरी जनशक्तिको विकास गर्न प्रस्तावित तालिम कार्यक्रम सक्षम हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनु भयो ।
प्रशिक्षण केन्द्रहरुले तालिम कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताउँदै वर्तमान चुनौतिहरुको सामना गर्न सक्ने जनशक्तिको विकास गर्न निर्देशन समेत दिनु भयो ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद मन्तव्य राख्ने क्रममा सम्पूर्ण तालिम प्रदायक प्रहरी कार्यालयहरुको तर्फबाट प्रतिबद्दता जाहेर गर्दै बार्षिक तालिम क्यालेण्डर अनुसार सञ्चालन हुने प्रशिक्षण गतिविधिहरुलाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने, प्रशिक्षण केन्द्रहरुबाट संचालन हुने समान प्रकृतिका तालिमहरुको सञ्चालन प्रकृया तथा गुणस्तरमा एक रुपता कायम गर्ने,प्रशिक्षण केन्द्रहरुमा अनुसरण गरीएका असल अभ्यासहरुलाई अन्य प्रशिक्षण केन्द्रहरुसँग परस्पर समन्वय गरी अबलम्बन गर्ने,अनुगमन तथा मुल्यांकन मापदण्ड २०७९ कार्यान्वयन समेत भईसकेकोले सबै तालिम केन्द्रहरुले अझ प्रभावकारी बनाउन सबै प्रशिक्षण केन्द्र लाग्नु पर्ने साथै प्रहरी महानिरीक्षकबाट निर्देशन भएका कुराहरुलाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने कुरा व्यक्त गर्नु भयो ।
मन्तव्यकै क्रममा प्रस्तावित तालिम क्यालेण्डर निर्माण गर्ने शिलशिलामा २०८० फागुण १५ गते रा.प्र.प्र.प्र.का तत्वावधानमा प्रशिक्षण संचालन गर्ने कार्यालयहरुका प्रमूख तथा प्रतिनिधिहरुसँग र यही चैत्र १३ र १४ गते तालिम प्रदायक मुख्य प्रशिक्षण केन्द्रका प्रमुख तथा प्रतिनधीहरु तथा सरोकारवाला प्रहरी कार्यालयका प्रतिनिधिहरुसँग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दुई दिन समीक्षा गोष्ठी संचालन गरि वृहत रुपमा छलफल गरीएको समेत व्यक्त गर्नु भयो ।
तालिम क्यालेण्डर निर्माण गर्नु पूर्व TNA गरी पहिचान गरिएका आवश्यक तालिमहरुमात्र क्यालेण्डरमा समावेश गर्ने, नेपाल प्रहरीको तालिम संचालन कार्यादेश, २०७९ लाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने कुरा समेत व्यक्त गर्नु भयो।
प्रस्तावित तालिम क्यालेण्डरमा वर्तमान समयको नविनतम प्रविधीले ल्याउने चुनौतीहरुको सुक्ष्म अनुसन्धान गर्न सक्ने जनशक्तिको विकासका लागि पोलिग्राफ परीक्षक तालिम, Research Framework Training, Basic Training in Forensic Science,Certified Hacking Forensic Investigator Training,Digital Investigative analysis,भूमी सम्बन्धी(ठगी।लिखत)कसुर अनुसन्धान तालिम लगायत २० वटा नयाँ प्रशिक्षण कार्यक्रमहरु समेत समावेश गरीएको कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप शमसेर जबराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रतिष्ठानका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले प्रस्तावित तालिम क्यालेण्डर सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका बिभिन्न विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रशिक्षण प्रदायक कार्यालयका निर्देशक,प्रधानाचार्य,प्राचार्य,समादेशक,प्रहरी बरीष्ठ उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
१६ चैत २०८०, शुक्रवार २१:०५ बजे प्रकाशित