चम्किलो छवि बनाएर सेवा निवृत भएका एआईजी सन्दिप भण्डारीलाई हृदय देखि धन्यवाद !
उनी नेपाल प्रहरीमा आएर सेवा गरेर विदाई भएका मध्यमा एक उत्कृष्ट प्रहरी अधिकृत हुन्
काठमाडौ । नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सेवा निवृत्त भएका छन् ।
अन्य सबै संगठनहरुमा जस्तै नेपाल प्रहरी संगठनमा पनि सेवा प्रवेश र सेवा निवृति स्वाभाविक अनिवार्यता हो । अर्थात प्रहरीमा सिपाही देखि अधिकृतहरु आउँछन् अनि जान्छन् । फरक यत्ति हो कि सेवा प्रवेश एकै प्रकारले भए पनि सेवा निवृति चाहिँ मान्छे पिच्छे फरक फरक हुन्छ । कोहि औसत भएर जान्छन् जो आएको गएको थाहा नै हुदैन । कोहि बदनाम भएर जान्छन् जो जाँदा संगठनले राहात महशुस गर्छ भने संगठनका सदस्यहरुले हर्ष मनाउने गर्छन् । अनि कोहि कोहि यस्ता हुन्छन् जसको वहिर्गमनले संगठनमा रिक्तता हुन्छ , संगठनका सदस्यहरु विच सन्नाटा छाउँछ अनि उसको विदाईमा आम रुपमा सबैले मनलाई गरुङ्गाे र आँखालाई रसिलो पार्छन् भलै त्यस्तो विरलै हुन्छ ।
त्यस्तै विरलै निर्माण हुने व्यक्तित्व बनाएर , सिङ्गो संगठनमा रिक्तता महशुस गराएर अनि सबैको मन भारी र आँखा रसिलो बनाएर बिदाई भएका छन् नेपाल प्रहरीका एआइजी सन्दिप भण्डारी ! हुन त मैले उनको सक्रियता , व्यवसायिकता , सरलता र लोकप्रियतालाई बुझेर उनको बारेमा सकारात्मक लेख्दै बोल्दै आएको हुँ । तर उनि संगठनमा हुँदा चाहिँ कहीँ कतै केहि स्वार्थले पो लेख्यो कि , चाकरी पो गर्यो कि भन्ने पर्ला भनेर कतिपय बेला लेख्न चाहेर , मनमा आएर पनि लेखेको थिइन तर आज उनि सेवा निवृत्त भैसकेको हुनाले ढुक्कले लेख्छु कि सन्दिप भण्डारी नेपाल प्रहरीमा आएर सेवा गरेर विदाई भएका मध्यमा एक उत्कृष्ट प्रहरी अधिकृत थिए ।
सेवा प्रवेश देखि विदाईको दिनसम्म उनि प्रहरी वाहेक अरु कुनै दोश्रो भूमिकामा रहन नै चाहेनन् । उनले न घर परिवार , न साथी भाइ न इष्टमित्र भने , भने त केवल प्रहरी ! बारम्बार सोचे त केवल प्रहरीको हित ! त्यसैको परिणति नै भनौं आम रुपमा उनलाई संगठनको नेतृत्वमा पुग्ने व्यक्तिकै रुपमा लिइएको थियो ।
उनको निष्ठा , व्यवसायिकता , सक्रियता , संगठनमा गरेको योगदानले आर्जित स्वीकार्यताले उनि नेतृत्वमा पुग्न कुनै बाधा अड्चन हुने कारण थिएन तर दुर्भाग्य नेपालमा त्यति मात्रैले आइजीपी हुन सम्भव नभएको प्रमाणित गर्दै कुनै पात्रलाई बन्न अड्चन नहोस भन्नको लागि उनलाई आइजीपी बनाउने त दुर प्रतिष्पर्धामा समेत रहन नसक्ने अवस्था निर्माण गरियो । भलै जसलाई बनाउन उनलाई भित्ता लगाइयो उनि पनि आइजीपी नहुने अवस्था बन्यो र संयोगले सन्दिप भण्डारीका एक भद्र सहयात्री आइजीपी बन्ने अवस्था बन्यो ।
जे होस न्याय हुँदा वा अन्याय हुँदा , मन रुँदा वा हाँस्दा , उचित जिम्मेवारी पाउँदा वा किनारामा फ्याकीदा , जुनसुकै अवस्थामा पनि सन्दिप भण्डारी नेपाल प्रहरीको छवि उज्यालो बनाउन डटीरहे । जीवनको उर्जाशील २९ बर्ष नेपाल प्रहरीमा आवद्ध रहेर २४ घण्टा सातै दिन केवल प्रहरी भएर काम गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेको बेला सेवा निवृत हुँदै रहेका एआइजी सन्दिप भण्डारीलाई कार्यकारी निर्देशक पद सँगै निवास पनि छोडने समय नजिक हुँदै गर्दा उहाँकी धर्मपत्नीले सोध्नु भएछ “ सेवा निवृत भएपछि कहाँ बस्ने ?” आफ्नो प्रिय श्रीमतीले सोधेको सवालको सिधा उत्तर सायद थिएन सन्दिप भण्डारीसँग किन कि प्रहरी संगठन गतिलो बनाउँछु भन्दा भन्दै उनले घर बनाउने , गाडी किन्ने जस्ता विषयमा ध्यान दिनै सायद चाहेनन् वा भ्याएनन् ।
त्यसैले उनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित भव्य समारोह र तामझाम सहित बिदाई भएर आफ्नो दाइको निवासमा छिर्न पुगे । विरलै देखिने सुनिने र पढिने यो प्रसङ्ग पढ्दै गर्दा कतिपयको मनमा सवाल जरुर पैदा हुनेछ कि आखिर प्रहरीमा त्यति दु:ख मेहेनत गरेर काम गरेर सन्दिप भण्डारीले के चाही कमाए ? यसको सिधा जवाफ छ त्यो के भने नेपाल प्रहरी संगठनमा रही गरेको त्याग तपस्या सहितको सेवाले सन्दिप भण्डारीले त्यो सिंगो संगठनका सदस्यहरु ( भूतपूर्व देखि वहालवाला) को माया कमाएका छन् । उनलाई बाटो घाटो देख्दा भेट्दा प्रहरीहरुले अन्तर मनबाट सम्मान र खुसिले सलाम गरिरहने छन्। उनले आर्जन गरेको त्यही नै हो । तसर्थ आफ्नो कर्मले सम्मान आर्जन गर्दै चम्किलो छवि बनाएर सेवा निवृत भएका सन्दिप भण्डारीलाई हृदय देखि धन्यवाद दिँदै सफल प्रहरी जीवनको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछाै ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सन्दिप भण्डारीलाई २०८० बैशाख ४ गते मङ्लबार फौजी परम्परा अनुसार भब्यताका साथ प्रहरी प्रशिक्षण प्रतिष्ठानले बिदाइ गरेको थियाे।
यो पनि पढ्नुहोस्
३० वर्ष सेवा गरेर प्रहरी अतिरिक्त महानिरीक्षकबाट बिदा भए सन्दिप भण्डारी (तस्बिरमा हेर्नुस् )
एआईजी सन्दिप भण्डारीकाे विदाईमा : ‘जब सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे आँखामा आशु थियाे’
६ वैशाख २०८१, बिहीवार १८:३४ बजे प्रकाशित