दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

4.93K
shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलहरुले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा(एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरू एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले जे–जति राजनीतिक उपलब्धी प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले समझदारी गर्दा ठूला–ठूला उपलब्धी हासिल गरेका छौँ, तर जतिबेला हामी विमति तिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्दछु ।”

विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

“सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसका विरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलका सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्नका लागि पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाई छ ।

“हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा अझ उन्नत विचारको विकास गर्ने र जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने संकल्प गरौँ ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083