सफल कमाण्डर बन्न सफल एआईजी भिम ढकाल !

काठमाडौं । प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभाग प्रमुख छन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम प्रसाद ढकाल ! एआईजी ढकालको २८ वैशाखमा बढुवा/पदस्थापनासँगै ३ जेठमा मात्र विभागको जिम्मेवारी सम्हालेका हुन् ।
प्रहरी कर्मचारीहरुको नयाँ नियुक्ति, पदस्थापन, सरुवा, काज, बढुवा, राजीनामा, अवकाश, निवृत्तिभरण, उपदान, असाधारण सुविधा सिफारिससँग सम्बन्धित कार्यहरु कर्मचारी प्रशासन शाखाबाट सम्पादन हुने गर्छ । त्यसैले यो विभाग महत्वपूर्ण मानिन्छ ।
अझै प्रहरीको सरुवा बढुवामा यो विभागको ठूलो हात हुने गर्छ । ७९ हजार ५४१ संख्यामा रहेका प्रहरीको सरुवादेखि बढुवाको सूची यस विभागबाट सार्वजनिक भएपछि आधिकारिक हुने भएकाले यहाँ जान एआईजीहरु निकै मरिहत्ते समेत गर्छन् ।
विभाग प्रमुख हुँदा आफू अनुकुल प्रहरीलाई विभिन्न ठाउँमा सरुवा गरि दिनेदेखि बढुवामा समेत सहजीकरण गर्ने काम हुन्छ । यस अघिका विभाग प्रमुखहरुले आफूअनुकुल प्रहरीलाई विभिन्न ठाउँमा सरुवा गरिदिनेदेखि बढुवामा हस्तक्षेप गरेको प्रशस्त उदाहरण देखिएकै हो ।
तर, हालका विभाग प्रमुख एआईजी ढकाल संगठनले दिएको जिम्मेवारीलाई निष्पक्ष ढंगबाट निर्वाह गर्ने हुँदा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरको नजरमा परेको बताइन्छ । आईजीपी कुँवरले नै मानवस्रोत विभागमा ढकाललाई ल्याएका हुन् ।
विभागको जिम्मेवारी सम्हालेपछि एआईजी ढकालले संगठनले दिएको काम, कर्तव्य र अधिकारको दुरुपयोग नहुने गरी काममा ‘फोकस’ हुने बताए । उनले भने, ‘संगठनको हित विपरित काम गर्दिन । आफूमातहतको कर्मचारीलाई गर्न पनि दिन्न ।’
प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित एआईजी ढकाल साधारण व्यक्तित्व र सफल कमाण्डर अर्को नाम हो । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल उनले ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवा सुरु गरेका थिए ।
उनी ८ असार २०७९ सालमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) भएका हुन् । डिआईजीमा ढकालले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी र कार्णाली प्रदेश प्रहरी प्रमुखको समेत जिम्मेवारी सम्हालि सकेको अनुभव छ ।
प्रवक्ताको जिम्मेवारीमा रहँदा ढकालले सहज ढंगबाट प्रहरीका गतिविधिहरुलाई सहजीकरण गर्न भूमिका खेले । सकारात्मक पाटोलाई मध्यनजर गरेर ढकालले संगठन प्रमुखले गरेको कामहरुको ब्रिफिगं समेत गरेका थिए ।
त्यस्तै कर्णाली प्रदेश प्रहरी प्रमुख रहँदा ठूला ठूला घटनामा ढकालले सफलता हात पारे । जस्तो मुगु सामूहिक हत्याकाण्ड एउटा उदाहरण हो । त्यस्तै लागूऔषध विरूद्धको लालटिन अभियान चलाए । जुन अत्यन्तै प्रभावकारी बनेको थियो ।
त्यस्तै २६ माघ २०७५ मा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि ढकालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी र त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयको समेत जिम्मेवारी सम्हाले ।
ट्राफिक प्रमुख हुँदा उनको उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो योगदान रहेको यातायात व्यवसायीहरु नै बताउँछन् । त्यस्तै सार्वजनिक यातायातका चालकहरुलाई सुझाव दिँदै छड्के अनुगमनमा समेत निस्किन्थे । जतिबेला उनको चौतर्फी प्रशंसा भएको थियो ।
विमानस्थलमा समेत उनले प्रहरीभित्र आन्तरिक शुद्धिकरण अभियान चलाएका थिए । त्यतिमात्र नभएर आन्तरिक विमानस्थलबाट बाहिरि सडकसम्म गाडीको व्यवस्था मिलाउने काममा समेत ढकालको प्रत्यक्ष सहभागिता रहेको थियो ।
यस्तै व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिएका ढकाल २९ माघ २०७१ सालमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका हुन् । एसपीमा झापा, सप्तरी प्रहरी प्रमुख र विरानगर गणको जिम्मेवारी सम्हाले ।
ती जिल्लाहरुमा उनले प्रशंसायोग्य कामहरुको गरेको बताइन्छ । जहाँ पनि बस्दा ढकालले आफ्नो कर्तव्य र अधिकार बाहिर रहेर कहिले कुनैपनि काम नगरेको उनकै ब्याचमेटहरु बताउँछन् ।
यस्तै इन्स्पेक्टरबाट जागिर सुरु गरेका ढकाल २०६३ सालमा प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका थिए । डिएसपीमा ढकालले इलाम र पाल्पा जिल्लाको कमाण्ड गरे ।
त्यस्तै इन्स्पेक्टरमा उनले बानेश्वर र कालीमाटी वृत्तको नेतृत्व सम्हालेका थिए । यसरी जहाँ पनि इन्चार्ज भएर जिम्मेवारी सम्हाले उनी कहिँकतै चुकेनन् । त्यसैले उनी जहाँ पनि एउटा इमान्दार प्रहरी अफिसरको रुपमा चिनिन्छन् ।
२४ जेठ २०८१, बिहीवार १५:१८ बजे प्रकाशित