जवानदेखि सईसम्मका १० प्रहरी हेडक्वाटर तानिए

4.39K
shares

काठमाडौं। मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका १० प्रहरीलाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) झिकाएर अनुसन्धान सुरु गरिएको छ ।

शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जनालाई हेडक्वाटर नक्साल तानेर छानबिन अघि बढाइएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन् ।

‘केही कैफियत देखिएपछि सोधपुछका लागि बोलाइएको हो । तानिनेहरुमा मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना छन् ।

छानबिनका लागि हेडक्वाटर तानिनेहरुमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेशका सहायक हवल्दार मुकुन्द शर्मा, जिल्ला प्रहरी कार्यालय धनुषाका जवान शतेश लाल कायस्थ छन् ।

त्यस्तै कोशी प्रदेश मातहत कार्यरत रहेका हवल्दार बृजेश मुखियालाई पनि हेडक्वाटर तानिएको छ । उनीहरु मध्ये केही सादा पोशाकमा रहेर काम गरेका प्रहरी छन् । उनीहरुमाथि अहिले प्रहरी हेडक्वाटरको उजुरी छानबिन शाखाले छानबिन गरिरहेको छ ।

यो छानबिनको साइनो भने मधेश प्रदेशका डीआईजीसम्म ठोकिएको संकेत यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्ने क्रममा ११ भदौमा कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए ।

प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाई थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083