सवारी दुर्घटना रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनको लागि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस १९ शुक्रवार १९:५४
shares

सिन्धुली। सवारी दुर्घटना रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनको लागि सरोकारवाला निकायहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सभाहलमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माकाे अध्यक्षतामा सवारी दुर्घटना रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनको लागि सरोकारवाला निकायहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकोहाे ।
उक्त कार्यक्रममा सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले लगायत अन्य राजनितिक दलका पदाधिकारीहरु,नगरपालिकाका पदाधिकारीहरु, यातायात व्यवसायी तथा कार्मचारीहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखज्यू, खानेपानि फिल्ड कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल टेलिकम दुर सचांर सिन्धुली प्रमुख, सचांरकर्मी, होटल व्यवसायी, उधोग वाणिज्य सघंका प्रतिनिधि, यातायात व्यवस्था कार्यलय सिन्धुलीका प्रमुख, सामुदायिक सेवा केन्द्रका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले सवारी दुर्घटना रोकथाम, न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण गर्नु भएको थियो ।
साथै मुख्य सडक मार्ग अन्तर्गत वि.पि राजमार्ग,मदन भन्डारी राज मार्ग तथा मध्य पहाडि लोक मार्ग र भित्रि ग्रामिण सडक खण्डहरुलाई थप सुरक्षित एवं व्यवस्थित गरी सवारी दुर्घटना रोकथाम, न्यूनिकरण तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थितिमा सडकमा भएका खाल्टा/खुल्टी, जर्किङ, रोड मार्किङ, सडक बोर्ड, अव्यवस्थित तार, पोल, केवलका तथा इन्टरनेटका तारहरुको आवश्यक व्यवस्थापनको कार्य सम्बन्धित स्थानिय पालिका, सडक डिभिजन कार्यालय ,नेपाल विद्युत प्राधिकरण/ नेपाल टेलिकम/ खानेपानि तथा इन्टरनेट प्रदायक संस्थाहरुले गर्ने, मुख्य राजमार्गहरुको मुख्य चोक, बस्ती, दुर्घटना स्थलहरुमा स्थानिय प्रहरीको सिफारिसमा सडक बत्ती / C.C.T.V मर्मत एवं थप जडान गर्न सम्बन्धित पालिकाहरुले श्रोतको व्यवस्थापन गरी कार्यान्वयन गर्ने, सबै सरोकारवाला निकायहरुले आवश्यक समन्वय गरी दुर्घटना रोकथाम तथा न्यूनिकारणका लागी सचेतनामूलक कार्यक्रम संचालन गर्ने, एक तर्फी सडक आवतजावत, सवारी साधनको स्वरुप परीवर्तन र ध्वनी प्रदुषण नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्ने, यात्रुहरुको सुरक्षा एवं संख्या निर्धारणको लागी यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा प्रस्थान विन्दुबाट यात्रु चलानी पत्र राख्नुपर्ने तथा सवारी साधनको प्रयोजन विपरित यात्रुवाहक बसको छतमा सामान बोक्ने, रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्ने, असुरक्षित र क्षमता भन्दा बढी यात्रु बोक्ने, यात्रु सवारी साधनमामा मालसामान र मालवाहक गाडीमा यात्रु बोक्ने कार्यलाई कानून बमोजिम न्यूनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरी कार्यालयले कडाईका साथ क्रियाशिल रहने गरी विभिन्न विषयमा निर्णय समेत गरिएको थियो ।
अन्तमा कार्यक्रमका अध्यक्ष यस जिल्लाका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सडक दुर्घटना न्यूनिकरणका लागि सवै सडक प्रयोग कर्ताहरुले नियम पुर्वक ट्राफिक नियमहरु पालना गर्न सके सडक दुर्घटनाबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै धनजनको क्षेती हुन नदिई आफु र अरुलाई समेत बचाउन सकिन्छ भन्ने भनाई सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

















