टाइम कार्ड पुनरावलोकन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
ईटहरी। टाइम कार्ड पुनरावलोकन र थप टाइम कार्ड लागू सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“दुर्घटना न्यूनीकरणका लागि” नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी र नेपाल यातायात व्यवसायी राष्टिय महासंघ (कोशी प्रदेश) को संयुक्त सक्रियतामा कोशी प्रदेशमा लगाईएको टाइम कार्ड पुनरावलोकन, थप टाइम कार्ड लागू सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सभाहलमा भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले टाइम कार्ड प्रणालीलाई प्रभावकारी बनाउँदै दुर्घटनाको दर घटाउन र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र यात्रुहरूको सहकार्य आवश्यक रहेको र यही २१ गतेदेखि सुनसरीको भाण्टावारी, इनरुवा, दुहवी हुँदै विराटनगर तथा भाण्टावारी, इनरुवा, इटहरी र धरानसम्म चल्ने यात्रुवाहक साना सवारीहरुमा थप टाइम कार्ड लागू गरी ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग र समयनिष्ठता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले हालको ट्राफिक चुनौतीहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दै टाइम कार्ड प्रणालीको प्रभावकारिताबारे जानकारी दिनुभयो ।
साथै नेपाल यातायात व्यवसायी राष्टिय महासंघ संयोजक सरोज श्रेष्ठले टाइम कार्ड प्रणालीमा सुधार र अद्यावधिक गर्दै यात्रुहरूको सुविधालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
सहभागीहरूले आगामी रणनीति तय गर्दै ट्राफिक व्यवस्थापन सुधारका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा यातायात व्यवसायी संघका प्रमुख तथा प्रतिनिधिहरू, यातायात मजदुर संघ संगठनका प्रतिनिधिहरुका साथै सिनियर प्रहरी अधिकृत तथा ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२० पुस २०८१, शनिवार १७:३८ बजे प्रकाशित