फरार प्रतिवादीलाई पक्राउ गर्न सफल प्युठान प्रहरी

3.95K
shares

प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालले प्युठान जिल्लाको नेतृत्व सम्हालेसँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् ।

डीएसपी बस्यालले गत असोज १७ गते प्युठान प्रहरीको कमाण्ड सम्हालेका थिए । यो तीन महिनामा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २१ जनालाई पक्राउ गरेको छ ।

डीएसपी बस्यालका अनुसार सबैभन्दा धेरै जबरजस्ती करणी मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लामा फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको डिएसपी बस्यालले बताएका छन् ।

विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ ।

उनले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गरे । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।

‘जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन’, डिएसपी बस्यालले भने । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् ।

‘कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ,’ उनले भने, ‘अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।’