सिन्धुली प्रहरीद्वारा लागुऔषध कारोबारी पक्राउ
वि.सं.२०८१ माघ २२ मंगलवार १६:२७
shares

सिन्धुली । सिन्धुलीमा प्रहरीले धमाधम लागुऔषध कारोबारी पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । सोमबार प्रहरीले लागुऔषध सहित सिराहा मिर्चैया नगरपालिका –६ बस्ने वर्ष–२५ को अजय कुमार साहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले भिमान चेकपोष्टमा बिराटनगरबाट काठमाडौँं तर्फ जाँदै गरेको बा ५ ख ३५८ नम्बरको हाईसमा सवार साहले लुकाइछिपाई ल्याएको लागुऔषध फेला पारेको थियो । साहले दाहिने खुट्टामा लगाएको मोजा भित्र लुकाई छिपाई ल्याएको लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९.७० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताए । लागुऔषध सहित साहलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।
आइतबार भिमानबाटै लागुऔषध सहित उदयपुर त्रियुगा नगरपालिकाका २९ बर्षिय हेमकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बिराटनगरबाट काठमाडौँं तर्फ जादै गरेको बा ५ ख ५९८८ को हायसलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा सर्टको खल्तीमा लुकाई छिपाई राखिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरीएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ । चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी उपरीक्षक काफ्लेले लागुऔषध दुव्र्यसनी, व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिङ्गो राष्ट्रका लागि नै समस्या भएको बताउनुभयो । उहाँका अनुसार गाँजादेखि नाईट्राभेट ट्यवलेट, स्पास्मोप्रोक्सिभन क्याप्सुल, नाइट्रोसन ट्यावलेट, फेनार्ग एम्पुल, डाईजापाम एम्पुल, नोफिन एम्पुल जस्ता लागुऔषधको कारेबार हुने गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति लागूऔषध ओसार्ने भरिया मात्र हुन् । मूख्य कारोबारी पक्राउ नपर्दा लागुऔषधको कारोबार झन बढेर युवाहरु कुलतमा फस्दै गएको अवस्था छ । भारतमा एक ग्राम ब्राउन सुगरको एक हजार नेपाली रुपैयाँ पर्छ । नेपालमा ल्याएपछि १ ग्राम ब्राउन सुगरलाई ३ हजार रुपैयाँसम्म बेच्ने गरिएको छ । लागूऔषधसहित पक्राउ परे सामग्रीको तौल र परिमाण हेरेर २० वर्ष सम्म जेल सजायँको कानुनमा व्यवस्था छ ।
सुरुवातमा चुरोट, रक्सी, गाँजा हुँदै दुव्र्यसनीका अन्य बाटो रोज्न थाल्छन युवाहरु । युवाहरुमा चुरोट, गाँजा, ड्रग्स र अन्य लागुऔषध प्रयोग गरेपछि आनन्द आउने, यौन शक्ति बढने जस्ता भ्रमपूर्ण धारणाले पनि दुव्र्यसनमा युवालाई लाग्न सहयोग गरेको हुन्छ ।
रुपैयाँ खर्च गरे घरमै बसेर अफिम, ब्राउन सुगर, गोटी, लगायतका लागुऔषध पाउन सकिन्छ । लागुऔषधको बजार मिश्रित खालको छ । केही लागुऔषध प्रयोगकर्ता आफना लागी आफै किन्न भारतीय सहर जान्छन् । र, आफ्ना साथीलाई बेच्ने गर्छन् । यसरी एक अर्कालाई दिने आआफ्नै समूह हुन्छन् । केहि संगठित गिरोहले लागुऔषधको ब्यापार गर्छन । संगठित गिरोह भारत र नेपाल दुबै तर्फ रहेको पूर्वप्रयोगकर्ताले बताए । तर, उनीहरुसम्म प्रहरी पुग्नै सक्दैन । उनीहरुले विभिन्न ब्यक्तिलाई प्रयोग गरेर आफ्नो ब्यापार चलाइरहेका छन् ।
लागू औषध दुब्यसनमा फस्ने उमेर भनेको १९ वर्षभन्दा तलको हुने भएकाले यो उम्मेरका किशोरकिशोरी सुरुमा यसको बारेमा धेरै जिज्ञासा हुँदा शुरुमा कस्तो हुन्छ, भनेर खाने गर्दा फस्ने गरेको पाइन्छ । त्यस्तै साथीभाइको संगतमा परेर पनि लागुऔषध सेवन गर्ने गरेको प्रहरीको भनाइ छ ।
यस्तो छ प्रहरीको तथ्यांक
सिन्धुलीमा पाँच वर्षको अवधिमा प्रहरीले लागुऔषध सहित २ सय १२ जनालाई पक्राउ गरेको छ । १५ जना फरार छन् । १ सय ५७ वटा लागुऔषधको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा २६ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको थियो । एक जना फरार रहेको प्रहरीले बताएको छ । १४ वटा लागुऔषधको मुद्धा दर्ता भएको छ । सो वर्ष ५ केजि ६२५ ग्राम गाँजा, १ हजार ५ सय १४ पिस एम्पूल टि.टि र ९ सय ७० ट्याक्लेट प्रहरीले फेला पारेको थियो । यस्तै , आर्थिक वर्ष २०७७/ ७८ मा ३२ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो ।
६० जना पक्राउ परेका थिए भने ३ जना फरार रहेका रहेका थिए । सो अवधिमा प्रहरीले ३४ ग्राम ४ सय ४० मिलि ग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो । १ सय ४३ केजि १ सय ८ ग्राम गाँजा, ४ हजार ६८ पिस एम्पुल टि.टि, २ हजार एक सय ६ वटा ट्याब्लेट र २ सय ३४ बोतल झोल पदार्थ प्रहरीले फेला पारेको हो । ०७८/०७९ मा ४९ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो । ६५ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । सो अवधिमा प्रहरीले ३६ ग्राम ९ सय ९७ मिलि ग्राम खैरो हिरोइन फेला पारेको थियो । यस्तै ५ ग्राम ८५५ मिलिग्राम चरेश, १ सय ५४ किलो ४२९ ग्राम गाँजा, २ हजार ३ सय ४४ पिस एम्पुल टि.टि, १ हजार ९ सय ७५ वटा ट्याब्लेट र २ सय २१ बोतल झोल पदार्थ फेला पारेको प्रहरीले बताएको छ । आर्थिक वर्ष ०९७/०८० मा ३९ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो । ४८ जना पक्राउ परेका थिए भने ३ जना फरार छन् । एउटा मुद्धा पछौट गर्न बाकिँ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १ सय ५५ ग्राम ६५ मिलिग्राम खैरो हिरोइन फेला पारेको थियो । ७ सय ग्राम चरेश, ४४ सय ३२ केजि ४ सय ५८ ग्राम गाँजा, २ सय ९२ पिस एम्पुल टि.टि, ३ हजार १ सय ३७ ट्याब्लेट र १ सय ४० बोतल झोल पदार्थ फेला पारेको थियो ।
आर्थिक वर्ष ०८०/८१ मा २३ वटा लागुऔषधको मुद्धा दर्ता भएका थिए । ३१ जना पक्राउ परेका छन् भने ८ जना फरार छन् । प्रहरीले ६८ ग्राम ४ सय २९ मिलि ग्राम खैरो हिरोइन, २ सय ७४ केजि २४५ ग्राम गाँजा, ४ हजार ११ पिस एम्पुल टि.टि, ८ हजार ७ सय ३६ ट्याब्लेट र १ सय मिलिको ७ सय ५३ बोतल झोल पदार्थ फेला पारेको थियो ।






























