एसएसपी विश्व अधिकारीद्वारा प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको निरीक्षण

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको निरीक्षण गर्नु भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको हाे।
सो क्रममा एसएसपी विश्व अधिकारीले प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको आ-आफ्नो जिम्मेवार क्षेत्रभित्रको सुरक्षा चुनौतिहरुलाई मध्यनजर गर्दै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले आ-आफ्नो दर्जा अनुसार आफुले पाएको जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि निर्देशन दिनुभयो ।
प्रहरी संगठनमा कार्य गर्ने अवसर प्राप्त हुनु नै व्यक्तिगत जीवनमा महत्वपूर्ण उपलब्धी भएकाले प्रहरी कर्मचारीले आफु कार्यरत रहेको कार्यालयमा नेपाल प्रहरी संगठनको साख अभिवृद्धि हुनेगरी उदाहरणीय रुपमा प्रहरी सेवा प्रवाह गर्दै समाजले सदैव सम्झने गरी व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्न प्रेरित गर्नुभयो ।
समाजमा राज्यको सबैभन्दा बढी Visible निकाय भनेकै नेपाल प्रहरी संगठन भएकाले यस संगठनमा आवद्ध प्रहरी जनशक्तिले गर्ने हरेक कार्य कानुनले निर्दिष्ट गरे बमोजिम हुनुपर्ने विषयमाथि जोड दिँदै उहाँले प्रभावकारी ढंगबाट कार्य सम्पादन गरी समाजमा शान्ति, सुव्यवस्था एवं अमनचयनको वातावरण सिर्जना गर्न कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
व्यावसायिक निष्ठालाई मलजल गर्दै समग्र प्रहरी कर्मचारीहरुको एकताबद्ध, सबल एवं मजबुत आन्तरिक सञ्जाल मार्फत् शान्ति सुरक्षासँग सरोकार राख्ने समाजका संवद्ध व्यक्ति/ संस्था/ निकायहरुसंगको वाह्य सञ्जाल विस्तार गरी ‘सुरक्षित उपत्यका’ को लक्ष्य हासिल गर्न तथा नेपाल प्रहरी संगठनको ‘सत्य, सेवा, सुरक्षणम्’ को मूलमन्त्रलाई साकार पार्न ‘Operation 9’ (NINE: Nurturing Integrity – Networked Enforcement) को नयाँ अवधारणा जिल्ला प्रहरी परिसर, काठमाडौंले ल्याएकोले यसलाई पुरा गर्न सबै प्रहरी कर्मचारीहरुले व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मद्वारा समाजमा प्रहरीको उपस्थिति देखाउनको लागि निर्देशन दिनुभयो ।
नेपाल प्रहरी संगठन समग्रमा एउटै टिम भएको र समाजमा अपराध नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रहरी संगठनको साझा लक्ष्य/ उद्देश्य भएकाले ‘One Team – One Theme’ को मुल मर्मलाई आत्मसात् गर्दै कानुनबमोजिम प्रभावकारी कार्यसम्पादन मार्फत् समाजमा प्रहरीको छवि उच्च बनाउन प्रेरित गर्नुभयो ।
सो क्रममा उहाँले, प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि समाजमा परिचालित प्रहरीले मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्वनमा विशेष ध्यान दिँदै कानुन कार्यान्वयन मार्फत् जनताको जिउधनको रक्षा गरी समाजमा सुरक्षाको प्रत्याभूति दिलाउनको लागि समेत निर्देशन दिनुभयो ।
१९ फागुन २०८१, सोमवार १५:३१ बजे प्रकाशित