गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा CCTV क्यामेरा प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण

काठमाडौ । गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा CCTV क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक प्रसाद रिजालको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको विशेष आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सभाहलमा CCTV क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रमको क्रममा विश्व अधिकारीले समाजमा शान्ति सु-व्यवस्था कायम गर्न स्थानिय निकाय र प्रहरी विचको सहकार्य अपरिहार्य रहेको सन्दर्भमा गोकर्णेश्वर न.पा. द्वारा CCTV क्यामेरा जडान गरी प्रहरीलाई हस्तान्तरण गरिएकोमा नगरपालिका प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
साथै जडान भएका CCTV क्यामेराबाट आपराधिक गतिविधिहरु र त्यसमा संलग्न व्यक्तिहरुको सुक्ष्म निग्रानी गर्न मद्दत पुग्ने भएकोले अपराध अनुसन्धान एंव नियन्त्रणमा यसले विशेष सहयोग पुर्याउने विश्वास समेत व्यक्त गर्नु भयो ।
गोकर्णेश्वर नगरपालिकाद्वारा विनियोजित ४० लाख रकमबाट अरव बैंक देखि दक्षिणढोका र जोरपाटीदेखि वि.पी चोक सुन्दरीजल सम्मका विभिन्न स्थानहरुमा ७२ वटा CCTV क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण गरिएको थियो । अरव बैंक देखि दक्षिणढोका सम्म २० वटा CCTV क्यामराको प्रहरी चौकी जोरपाटीबाट Monitoring गर्ने र जोरपाटी देखि वि.पी चोक सुन्दरीजलसम्म जडान भएका ५२ वटा CCTV क्यामेराको प्रहरी प्रभाग गोकर्णबाट Monitoring गर्ने व्यवस्था मिलाइएको छ ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ जयश्वर रिमाल, ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख प्र.नि. जितेन्द्रमान श्रेष्ठ लगायत स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
३१ चैत २०८१, आइतवार २३:२४ बजे प्रकाशित