“ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२ को शुभारम्भ”

3.39K
shares

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२”को शनिबार समुद्‍घाटन भएको छ ।

नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्‍घाटन गर्नुभएको हो । ट्राफिक सप्ताहको सफलताको शुभकामना दिदै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक नियमलाई दण्ड जरिवानाको डरले होइन, आफ्नो जीवनको मूल्य बुझेर पालना गर्न सम्पूर्ण सडक प्रयोगकर्तालाई अनुरोध गर्नुभयो ।

बसन्तपुर डबलीबाट सुरु भएको जनचेतनामूलक र्‍याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रममा परिणत भएको थियो । “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ आजबाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन् सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।

 


यसैगरी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक एफ एम ९५.५ मेगाहर्जको पनि उद्‍घाटन गर्नुभएको छ । गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात पुगेको भौतिक क्षतिका कारण रोकिएको प्रसारण आजबाट नियमित रुपमा पुन: प्रसारण‌ सुरु भएको हो । यसैगरी आजै ट्राफिक प्रहरी कर्मचारीहरूलाई इन्फ्लुइन्जा खोप कार्यको पनि शुभारम्भ भएको छ ।

यस्तै Nepal Automobile Impoters And Manufacturers Association ( NAIMA ) सँग ट्राफिक कर्मचारीका लागि सञ्चालन गरिने अनुशिक्षण तालिमका लागि सम्झौता पत्रमा हस्ताक्षर भयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको वृत्तचित्र र ट्राफिक सचेतनामूलक गीतमा नृत्य समेत प्रस्तुत भएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक एफ एमको भवन निर्माणमा योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाकी उप- प्रमुख सुनिता डंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर र अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसीले ट्राफिक सप्ताह सफलताका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेनाका महासेनानी,प्रहरी वरिष्ठ उपरीक्षकहरू, काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष,तथा सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, यातायात व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।