ट्राफिक व्यवस्थापन सुधारको सन्देशसहित सार्वजनिक बसमा यात्रा गर्दै उम्मेदवार इन्द्र भुषाल

सबैको साझा प्रयासबाट अस्तव्यस्त सडकलाई व्यवस्थित बनाउन अपिल

8.26K
shares

काठमाडौं । ट्राफिक व्यवस्थापनलाई कसरी सहज, व्यवस्थित र जनमैत्री बनाउन सकिन्छ भन्ने विषयलाई केन्द्रमा राख्दै काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार इन्द्र भुषालले सार्वजनिक बसमार्फत यात्रा गरेका छन्।

नेपाल प्रहरीद्वारा सञ्चालन भइरहेको ट्राफिक सप्ताहले ट्राफिक नियम पालना र सडक अनुशासनप्रति जनचेतना फैलाइरहेका बेला, हामी स्वयंले प्रयोग गर्ने सवारी साधनका कारण काठमाडौं झनै अस्तव्यस्त त भइरहेको छैन भन्ने प्रश्नलाई आत्मसमीक्षाको विषय बनाइनुपर्ने भुषालले बताएका छन्।

सार्वजनिक सवारीको वास्तविक अवस्था नबुझी समाधानको दृष्टिकोण तयार गर्नु वस्तुनिष्ठ नहुने मान्यतासहित उनले आज कोटेश्वरदेखि चाबहिलसम्म महानगर बस प्रयोग गरे। जम्मा २० रुपैयाँ भाडामा सुरक्षित, आरामदायी र समयमै यात्रा सम्भव भएको उनको अनुभव छ। बसभित्र कार्यरत स्टाफको व्यवहार सन्तोषजनक रहेको र आरामदायी सिट तथा लोकेसन जडित टिभीले छोटो यात्रा भए पनि अझ सुखद बनाएको उनले बताए।

थोरै खर्चमा सहज र प्रभावकारी यात्रा सम्भव हुँदा सार्वजनिक सवारीको प्रयोगले काठमाडौंको बढ्दो भीडभाड र ट्राफिक चाप कम गर्न महत्वपूर्ण योगदान दिन सक्ने भुषालको भनाइ छ।

उनले आम नागरिकलाई सम्भव भएसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्न, अति आवश्यक अवस्थामा मात्र निजी सवारी प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

“आउनुस्, सबैको साझा प्रयासबाट अस्तव्यस्त सडकलाई व्यवस्थित बनाऔँ,” उनले अपिल समेत गरेका छन्। साथै नेता भुषाल नेपाली कम्युनिष्ट पार्टीकाे तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभाकाे उम्मेदवारका रुपमा इन्द्र भुषाल सिफारिस भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083