पुल्चोक इन्जिनियरिङ क्याम्पसमा महिला सुरक्षाबारे प्यानल छलफल सम्पन्न
वि.सं.२०८२ माघ १३ मंगलवार १८:१९
shares

ललितपुर । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा महिला सुरक्षाबारे प्यानल छलफल सम्पन्न भएको छ।
IOE Pulchowk Girls, पुल्चोक क्याम्पस तथा विभिन्न सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा “महिला सुरक्षा, कानुनी उपचार तथा कार्यान्वयन पक्ष” विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हाे।
जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा आयोजित उक्त कार्यक्रममा यस जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रलगायत प्रहरी कर्मचारीहरू, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, कलेजका विद्वानवर्ग तथा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महिला सुरक्षासँग सम्बन्धित विद्यमान कानुनी व्यवस्था, पीडितमैत्री न्याय प्रणाली, उजुरी दर्ता प्रक्रिया तथा कानुन कार्यान्वयनका व्यावहारिक चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागी वक्ताहरूले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि सबै पक्षको समन्वय र सचेतनाको आवश्यकता औँल्याएका थिए।
यस्ता छलफल कार्यक्रमहरूले विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै महिला सुरक्षा र अधिकारका विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

















