कीर्तिपुरमा हत्या प्रकरणका मुख्य अभियुक्त फरार
हिरासतबाट छुटेका व्यक्ति पनि संलग्न
वि.सं.२०८३ वैशाख २४ बिहीवार १४:३१
shares

२४ वैशाख, काठमाडौं। काठमाडौंको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा हिरासतबाट हालै छुटेका व्यक्तिको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ।
कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो करिब २:३० बजे गुल्मी धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेमाथि आक्रमण भएको थियो। धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटनास्थलमा करिब ६ जनाको समूह रहेको र उनीहरूमध्ये केही व्यक्तिहरूबीच आपसी विवाद चर्किँदा आक्रमण भएको देखिएको छ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न समूहमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति पनि रहेको खुलेको छ। यद्यपि, मुख्य अभियुक्तहरू अझै पक्राउ परेका छैनन्।
“हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ। पक्राउपछि विस्तृत विवरण सार्वजनिक गर्छौं,” अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।
घटनाको अनुसन्धान तथा अभियुक्त पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त टोली परिचालन गरिएको छ।
घटना भएको करिब २४ घण्टा बितिसक्दा पनि मुख्य अभियुक्तहरू फरार रहेकाले हत्याको वास्तविक कारण अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

















