बुटवलमा भूमिहीनको प्रदर्शन : ‘पहिले व्यवस्थापन, अनि मात्र खाली गर’

273
shares

२४ वैशाख, बुटवल। बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बिना विकल्प बस्ती खाली गराउने सरकारी कदमविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले तत्काल बस्ती हटाउने कार्य रोक्न माग गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारसँग वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतमा भूमि आयोगमार्फत गरिएको व्यवस्थाअनुसार व्यवस्थापन गर्न र लालपुर्जा उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले उचित विकल्पबिना बस्ती हटाउनु अन्यायपूर्ण भएको बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेनको राजीनामासमेत माग गर्दै चर्का नाराबाजी गरेका थिए। ‘डोजर आतंक बन्द गर’, ‘नागरिकलाई विस्थापित होइन स्थापित गर’, ‘हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो। साथै ‘विकासको नाममा विनाश स्वीकार्य छैन’ र ‘मानव अधिकारको सम्मान गर’ जस्ता माग पनि उठाइएको थियो।

राजमार्ग चौराहाबाट सुरु भएको जुलुस अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत भएको संघर्ष समितिले जनाएको छ। जिल्लाभरबाट आएका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

रुपन्देही जिल्लामा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीको संख्या करिब एक लाख रहेको अनुमान छ। तीमध्ये ८० हजारभन्दा बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए।

संघर्ष समितिका अनुसार, सरकारबाट दीर्घकालीन समाधान नआएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत दिइएको छ।