मल अभावले सीमा पार भारतबाट मल ल्याउँदा दुई नेपाली २२ दिनदेखि जेलमा

260
shares

काठमाडौं। धान रोपाइँको मुख्य समयमा रासायनिक मल नपाएपछि भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान भारतीय जेलमा परेको घटना सार्वजनिक भएको छ। घटनाले सरकारी तथ्यांकमा पर्याप्त मल मौज्दात रहेको दाबी र किसानले भोगिरहेको वास्तविक संकटबीचको अन्तरलाई फेरि उजागर गरेको छ।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र उनका दाजु नागेन्द्रप्रसाद सिंह असार १७ गते भारतको सोनबरसा बजारबाट खेतका लागि मल खरिद गरेर फर्किने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो। पक्राउ परेको २२ दिन बितिसक्दा पनि उनीहरू भारतीय जेलमै रहेका छन्।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले उनीहरू ठूलो परिमाणमा मलसहित पक्राउ परेको दाबी गरे पनि परिवारले भने आफ्नै खेतीका लागि एक बोरा युरिया र एक बोरा डीएपी मल मात्रै खरिद गरेको जनाएको छ।

परिवारका सदस्यका अनुसार पक्राउपछि भारतीय प्रशासनसँग पहल गरिए पनि मुद्दा अदालत पुगेकाले तत्काल रिहाइ सम्भव नभएको जवाफ दिइएको थियो। अहिले उनीहरूको रिहाइका लागि भारतीय कानुनी प्रक्रिया अपनाउनुपरेकाले ठूलो आर्थिक भार समेत थपिएको छ।

सीमावर्ती क्षेत्रका किसानहरूका अनुसार नेपालमा समयमा मल नपाउने समस्या पुरानै हो। भारतबाट मल ल्याउँदा पनि नेपालीले भारतीय नागरिकसरह सहुलियत मूल्य नपाउने भएकाले महँगो मूल्य तिरेर बाध्यतावश सीमा पार गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

उता नेपाल सरकारले भने दुवै किसानको रिहाइका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय पक्षसँग समन्वय भइरहेको जनाएको छ। स्थानीय प्रशासनले पनि उनीहरू केही दिनभित्र छुट्ने अपेक्षा व्यक्त गरेको छ।

कृषि मन्त्रालयले देशभर पर्याप्त मल मौज्दात रहेको र वितरण भइरहेको दाबी गर्दै आए पनि धेरै किसानले आवश्यक समयमा मल नपाउँदा वैकल्पिक उपाय खोज्न बाध्य भएको देखिएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा हालसम्म करिब ५ लाख ६१ हजार टन रासायनिक मल आयात गरिएको छ भने देशभरका गोदाममा ७४ हजार टनभन्दा बढी मल मौज्दात छ। तर वितरण प्रणाली प्रभावकारी हुन नसक्दा मल गोदाममै थन्किने र किसानले अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको मन्त्रालयकै अधिकारीहरू स्वीकार गर्छन्।

कृषि मन्त्रालयले स्थानीय तह, सहकारी र वितरण प्रणालीको ढिलासुस्तीका कारण मल किसानसम्म समयमै पुग्न नसकेको जनाएको छ। कतिपय सहकारीले ढुवानी खर्च, पूँजी अभाव तथा व्यवस्थापन समस्याका कारण आफ्नो कोटाको मल समयमै नउठाउँदा खेतमा अभाव देखिएको मन्त्रालयको भनाइ छ।

नेपालमा वार्षिक करिब १३ लाख टन रासायनिक मलको आवश्यकता रहे पनि सरकारी आपूर्तिको लक्ष्य त्यसको आधाभन्दा कम रहने गरेको छ। यही कारण प्रत्येक वर्ष धान रोपाइँको समयमा किसानले मल अभावको समस्या दोहोर्याउँदै आएका छन्।

सर्लाहीका सिंह दाजुभाइको घटना भने सरकारी दाबी र किसानको यथार्थबीच रहेको ठूलो दूरीको प्रतीकका रूपमा हेरिएको छ। खेतका लागि मल खोज्दै सीमा पार गरेका किसान अहिले जेलमा छन् भने नेपालमा मल पर्याप्त रहेको सरकारी दाबीमाथि प्रश्न उठिरहेको छ।


divya collage
unigloble collage