अमेरिकासँग पाकिस्तानको १० अर्ब डलरको आग्रह, मध्यस्थताको ‘इनाम’ खोज्दै इस्लामाबाद?

234
shares

इरान–अमेरिका तनाव कम गराउन कूटनीतिक पहलमा सक्रिय भूमिका खेलेको दाबी गरिरहेको पाकिस्तानले अब अमेरिकासँग पाँच वर्षका लागि १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता माग गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको भेटमा उक्त सहायता उपलब्ध गराइदिन आग्रह गरेको हो। यद्यपि अमेरिकी अर्थ मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन भने पाकिस्तान सरकारले पनि औपचारिक रूपमा सहायता मागिएको पुष्टि गरेको छैन।

पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरंगजेबले वाशिङ्टनमा अमेरिकी समकक्षीसँग भेटवार्ता गर्दै क्षेत्रीय भू–राजनीतिक परिस्थितिले पाकिस्तानको अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गरेका थिए। सार्वजनिक गरिएको विज्ञप्तिमा १० अर्ब डलर सहायता मागबारे भने उल्लेख गरिएको छैन।

रोयटर्सका अनुसार इरानसँगको तनाव कम गराउन र दीर्घकालीन समाधान खोज्ने प्रयासमा पाकिस्तानले सक्रिय भूमिका खेलेपछि वाशिङ्टनसँगको सम्बन्ध थप सकारात्मक बनेको छ। यही कूटनीतिक वातावरणलाई उपयोग गर्दै इस्लामाबादले आर्थिक सहयोगको पहल अघि बढाएको बताइएको छ।

हाल पाकिस्तान उच्च मुद्रास्फीति, विदेशी मुद्रा अभाव र आर्थिक दबाबसँग संघर्ष गरिरहेको छ। अमेरिकाबाट प्रस्तावित सहायता स्वीकृत भए विदेशी मुद्रा सञ्चिति मजबुत हुने, पाकिस्तानी रुपैयाँमाथिको दबाब कम हुने तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा निर्भरता घट्ने अपेक्षा गरिएको छ।

पाकिस्तान अहिले आईएमएफको ७ अर्ब डलरको विस्तारित सहायता कार्यक्रमअन्तर्गत कर वृद्धि, सरकारी खर्च कटौती र आर्थिक सुधारका कडा सर्त कार्यान्वयन गरिरहेको छ। यसअघि सन् २०२३ मा प्राप्त ३ अर्ब डलरको आपत्कालीन सहयोगले सम्भावित आर्थिक संकट टार्न महत्वपूर्ण भूमिका खेलेको थियो।

हाल पाकिस्तानले आईएमएफबाट विस्तारित सहायता कार्यक्रमसँगै जलवायु परिवर्तन तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि थप १.३ अर्ब डलर ऋण पनि प्राप्त गरिसकेको छ। यद्यपि विदेशी मुद्रा सञ्चिति अझै चीन, साउदी अरबलगायत साझेदार मुलुकबाट प्राप्त निक्षेप तथा ऋण नवीकरणमा निर्भर रहेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकाबाट मागिएको १० अर्ब डलरको सहयोग स्वीकृत भए त्यसले पाकिस्तानको अर्थतन्त्रलाई राहत दिने मात्र होइन, उसको अन्तर्राष्ट्रिय कूटनीतिक प्रभाव पनि थप बलियो बनाउनेछ।


divya collage
unigloble collage