आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफ.एम.को १४औँ वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८३ साउन ८ शुक्रवार १०:१३
shares

काठमाडौं । मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जले आफ्नो १४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रम नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकारी, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

वार्षिकोत्सव समारोहमा वक्ताहरूले मेट्रो ट्राफिक एफ.एम.ले ट्राफिक सचेतना, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रममार्फत समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। आगामी दिनमा पनि रेडियोले प्रभावकारी सूचना, समाचार र जनहितका कार्यक्रमलाई निरन्तरता दिँदै अझ उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा एफ.एम.को यात्रामा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो।
मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जले विगत १४ वर्षदेखि ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, समाचार तथा जनचेतनामूलक सामग्री प्रसारण गर्दै श्रोतामाझ आफ्नो अलग पहिचान स्थापित गर्दै आएको छ।





















