प्रदेश सरकार गठनमा एमाले–नेकपाको पाँचबुँदे निर्देशन
वि.सं.२०८३ साउन २६ मंगलवार १९:१६
shares

काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनलाई व्यवस्थित बनाउन पाँचबुँदे निर्देशन जारी गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश तहमा सहकार्यलाई प्रभावकारी बनाउन उक्त निर्देशन दिएका हुन्।
यसअघि दुई दलबीच भएको तीनबुँदे सहमतिको पूर्णरूपमा कार्यान्वयन गर्न पनि अध्यक्षद्वयले प्रदेश नेतृत्वलाई निर्देशन दिएका छन्। निर्देशनअनुसार प्रदेश सरकारमा मन्त्रालय तथा जिम्मेवारी बाँडफाँट गर्दा सम्बन्धित प्रदेशमा दलहरूको रहेको सिट संख्यालाई आधार बनाइनेछ। यसले सरकारमा सहभागी दलहरूबीच शक्ति सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रदेशमा राजनीतिक स्थिरता, प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्ने उद्देश्यले दुवै दलले न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गर्ने निर्णय गरेका छन्।
प्रदेश सरकार गठनदेखि सञ्चालनसम्म आपसी समन्वय र सहकार्यलाई प्राथमिकता दिने तथा यसअघि भएका सहमति कार्यान्वयनमा जोड दिनेगरी पाँचबुँदे निर्देशन आएको हो।






















