प्रदेश २ तनावग्रस्त: शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड

4.39K
shares

जनकपुरधाम। लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो। शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका छन्।

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन्। बिहान ८ बजेदेखि नै यी दुई ठाउँमा चक्काजाम गरिएपनि कल्याणपुरको चक्काजाम प्रहरीले खुलाएको छ। खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरुलाई सास्ती भोग्नुपरिरहेको छ।

आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन्। शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन्। राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन्। ठाउँ(ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैनन्।

धनुषामा राज्यमन्त्रीको गाडी तोडफोड
परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन्। धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ। ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ। जनकपुरधामको पनि बिभिन्न चोकमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। चोकहरुमा टायर बालेर उनीहरुले प्रदर्शन गर्दै शिक्षा मन्त्रीबिरुद्ध नाराबाजी गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083