बाँकेमा सडक दुर्घटना, ३७ जनाको मृत्यु

3.99K
shares

बाँके। बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ। मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन्।

पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा परी ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ। यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन्। अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ। यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारवाहीसमेत गरेको छ।

बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो। धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सूचना अधिकृत पौडेलले बताए। यस वर्ष बाँकेमा नयाँ तरिकाका सवारी दुर्घटना भएका छन् प्रहरी नायब निरीक्षक पौडेलले भने खेत जोत्न गएको ट्र्याक्टरबाट च्यापिएर पनि एकको मृत्यु भएको छ।

दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताए। हामी सवारीसाधन चलाएको अवस्थामा सडकमा सवारीसाधन रोकेर चालकलाई सचेतना दिएका छौँ प्रहरी निरीक्षक रोकायले भने इन्टरनेटको सहायतामा एप्समार्फत पनि चालकका गतिविधि नियालिरहेका छौँ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083