नेपाल ‘भर्जिन ल्याण्ड’ हो, मौका छोप्नुस्, लगानी गर्नुस्: प्रधानमन्त्री

5.23K
shares

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएकाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्। शुक्रबारदेखि राजधानीमा सुरू भएको नेपाल लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्दा सुरक्षित महशुस गर्न पनि आग्रह गरे।

‘तपाईहरू सबैलाई मेरो के सन्देश छ भने नेपाल व्यापार र लगानीका लागि तयार छ। हामी तपाईंहरूको लगानीलाई स्वागत गर्छौं। ढुक्क भएर मौका छोप्नुस्। तपाईंहरूको लगानीको सुरक्षा हुनेछ अनि नाफा सुनिश्चित गरिनेछ प्रधानमन्त्रीले भने। उनले लगानीको सुरक्षा र नाफाको सुनिश्चितताका लागि प्रष्ट भिजनसहितको सरकारले सबै काम गरिरहेको बताए।

म साथीहरूलाई पहिलादेखि नै भन्दै आएको छु र आज पनि जोड दिन्छु। लगानीका लागि नेपाल लगभग ‘भर्जिन ल्याण्ड’ हो। जुनसुकै क्षेत्रमा गरेको लगानी पनि नाफादायक हुन्छ। लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको बताए।

बुद्ध जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे।

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गरे। सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ। यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ।

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ। प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083