लुम्बिनी विकास कोषको उपाध्यक्षमा धर्मगुरु डा.लामा नियुक्त

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा पुर्व मन्त्री तथा धर्मगुरु प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) माननीय संविधानसभा सदस्य डा. ल्हारक्याल लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको छ । उनले आइतबार उपाध्यक्ष पदमा नियुक्ति गरेको पत्र बुझेका छन् । पुर्व बौद्ध विकास समितिको अध्यक्ष समेत भैसकेका अनुभवी धर्मगुरु डा.लामा बौद्ध धर्म सम्बन्धि लामो समयको ज्ञान अनुभव हासिल गरेका व्यक्ति हुन् ।
विश्वभर बुद्धको ज्ञान र लुम्बिनीको विकास तथा पर्यटन प्रबर्धनमा काम गर्न सक्ने सक्षम धर्मगुरु डा.लामा विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत हुन् ।
जीर्ण गुम्बाहरुको पुनः निर्माणमा अथक सक्रिय मेहनत र समन्वय बाट भारत सरकारको सहयोग र नेपाल सरकारको समन्वय गरेर देशका विभिन्न जिल्लाहरुमा दर्जनौं जीर्ण गुम्बाहरु पुर्ण निर्माण गरेका धर्म गुरु डा.लामा बौद्धधर्मको विकास र सम्बर्द्धनमा अतुलनीय योगदान पुराएका व्यक्ति हुन् । बुद्ध दर्शनमा पीएचडी गरेर फर्केपछि देशको सेवा गर्ने क्रममा डा.ल्हारक्यालले गिरिजाप्रसाद कोइराला, राजा ज्ञानेन्द्र, नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल हुँदै माओवादी अध्यक्ष प्रचण्डको पालामा विभिन्न जिम्मेवारी पाए ।
तीमध्ये अधिकांश जिम्मेवारीमा उनी सफल हुँदा कतिपय बेला विभिन्न राजनीतिक द्वन्द्वको शिकारसमेत बनाइए । तर, उनीमाथि लगाइएका सबैखाले आरोप राज्यका संवैधानिक र न्यायिक निकायबाट खारेज गरी सफाइ पाइसकेका छन् ।
धर्म गुरु डा.ल्हारक्याल बारे:-
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जन्मिएका डा.ल्हारक्याल लामा बुबा पासाङ फुर्बा र आमा नोर्बु रानीका १० सन्तानमध्ये कान्छो छोरा हुन् । उनले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे भने दक्षिण भारतको कर्नाटक राज्यस्थित मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् ।
खेन्पो डिग्री हासिल गरेपछि उनले अमेरिका, युरोप र एसियाका विभिन्न मुलुकमा गएर बौद्ध दर्शन विषयमा प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीबीच फैलाउने काम गरे ।
खेन्पो डिग्री हासिल गरेर नेपाल फर्किएपछि उनले १२ वर्षसम्म हेलम्बुमा प्रत्येक वर्ष देशभरका हजारौं गुम्बाका प्रमुख लामाहरुलाई जम्मा गरेर बुद्ध दर्शनका उपदेशको बारेमा प्रवचन दिए । उनको यो अभियानले गाउँगाउँका सामान्य लामादेखि महिलाहरुले समेत लामाले जस्तै पढ्न, लेख्न र सामान्य पूजा गर्न सक्ने भएका थिए ।
यसकारण पनि उनी सक्षम छन्:-
बौद्ध दर्शनमा खेन्पो डिग्री हासिल गरेर स्वदेश फर्किएपछि विभिन्न अभियानमा रहेका डा.लामालाई तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष नियुक्त गर्यो ।
२०५७ सालदेखि २०६३ सालसम्म उनी ७ वर्ष समितिको अध्यक्ष रहे । उनले आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश दिने अभियान चलाए । २०५७ सालसम्म देशभर २५० गुम्बा दर्ता भएकोमा उनको कार्यकाल सकिने बेलासम्म ३ हजार गुम्बा दर्ता गरी राज्यको छाताभित्र ल्याउन सफल भएका थिए ।
२०६१ सालमा उनले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षकै हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वाद प्रदान गरेपछि एकाएक चर्चामा आए । नेपालको इतिहासमै यो पहिलो थियो ।
राजनीतिक आरोहण
२०६२/६३ को जनआन्दोलनपछि राजनीतिक व्यवस्थामा परिवर्तन आएसँगै डा.लामाले सक्रिय राजनीतिमा पाइला राखे । सिन्धुपाल्चोक घर भएका त्यागी नेता अमृतकुमार बोहोरा त्यसबेला नेकपा एमालेमा महासचिव माधव नेपालपछि दोस्रो वरियतामा थिए । उनले बोहोराकै प्रेरणाबाट पहिलोपटक राजनीतिक पार्टीको सदस्य बनेर एमालेमा आबद्धता जनाए ।
माधव नेपाल नेतृत्वको नेकपा एमालेले २०६४ सालमा उनलाई संविधानसभाको समानुपातिक सूचीमा राख्यो र उनी समानुपातिकबाट सभासद् निर्वाचित भए । त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री भएका बेला उनलाई अर्थ राज्यमन्त्री नियुक्त गरे । तर, पार्टीभित्रकै विरोध र बाह्य शक्तिको दबाबका कारण उनले छोटो समयमै राजीनामा गरेका थिए ।
उनीमाथि केहीले दोहोरो नागरिकता लिएको आरोप लगाए पनि सर्वोच्च अदालतका न्यायाधीश नेतृत्वको उच्चस्तरीय छानबिन समितिले उनीसँग नेपालको मात्र नागरिकता रहेको ठहर गर्दै सफाइ दिएको थियो ।
धर्मगुरु डा.ल्हारक्याल लामाले पहिलो संविधानसभामा जातीय राज्यको चर्को बहस भइरहेका बेला नेपाल जस्तो बहुजातीय र बहुभाषिक देशमा जातीय संघीयता सम्भव छैन भनेर आदिवासी जनजाति सभासद ककसमै कुरा उठाएर चर्चामा आए । उनले संविधान समावेशी र समानुपातिक हुनुपर्ने तर संघीयता जातीय वा धार्मिक पहिचानका आधारमा हुन नहुने बहस चलाएका थिए ।
उनको यो निरन्तर बहस र छलफलका कारण उग्र जातीय नारा लगाउनेहरु मत्थर भएका थिए । दोस्रो संविधानसभामा उनी नेकपा माओवादी केन्द्रबाट सभासद भए । उनले दोस्रो संविधानसभा पनि पहिलोकैमा जस्तो भूमिका निर्वाह गरेर संविधान निर्माणमा उनी अग्रभागमा थिए ।
उनी यसबीचमा माओवादी केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुँदै आठौं महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।
अन्तर्राष्ट्रिय मञ्चबाटै बुद्ध जन्मस्थलबारेको भ्रम तोड्दै
डा.ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नुको फाइदा नेपाललाई यसकारण पनि छ कि उनी बौद्ध धर्मसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा आबद्ध छन् ।
सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आईबीसी)को स्थायी कमिटीमा रहेका डा.लामा सन् २०१६ देखि हालसम्म आईबीसीको सचिव निर्वाचित भई कार्यभार सम्हाल्दै आएका छन् । आईबीसी सयौं देशका बुद्धिस्टहरुको छाता संगठन हो र यसमा सरकारहरु नै आबद्ध छन् ।
हालैमात्र भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल बुद्धिस्ट समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित त्यहाँका विदेशमन्त्री र संस्कृतिमन्त्री सहभागी कार्यक्रममा डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा छ भन्ने यथार्थ स्वीकार गर्न कसैले कञ्जुस्याइँ गर्न नहुने धारणा राखेको भिडिओ भाइरल भइरहेको छ ।
सो सम्मेलनमा विश्वभरका बुद्धमार्गीका अगुवा र विभिन्न देशका मन्त्रीहरु सहभागी भएका थिए । डा.ल्हारक्यालकै जिम्मामा लुम्बिनी विकास कोष आएपछि उनको यो अभियान अन्तर्राष्ट्रियकरण हुने विश्वास गरिएको छ ।
यसअघिका उपाध्यक्ष अवधेश त्रिपाठीको ७ वर्षे कार्यकाल सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले डा.लामालाई निर्विकल्प रुपमा उपाध्यक्ष नियुक्त गरेको हो । केही मिडिया र विभिन्न पात्रहरुले विभिन्न टिप्पणी गरे पनि भूपू राज्यमन्त्री तथा माओवादी केन्द्रीय सदस्य डा.लामालाई धार्मिक तथा राजनीतिक अनुभवका हिसाबले उपयुक्त देखेरै सो जिम्मेवारी दिइएको माओवादी पार्टीले जनाएको छ ।
धर्मगुरु डा.लामाको नेतृत्वमा लुम्बिनीको विकास तथा बौद्ध दर्शनको अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम हुने विश्वास गरिएको छ । उनको राजनीतिक र धार्मिक क्षेत्रको २०औं वर्षको अनुभवलाई अब आफ्नो विज्ञताको क्षेत्रको विकासमा लगाउने अवसर मिलेको छ । उनले बुद्ध जन्मस्थलबारे अझै पनि रहेको भ्रम निवारण गर्ने र ठूलो मात्रामा धार्मिक पर्यटनको विकास गर्ने योजना अघि सार्नुपर्ने पहिलो जिम्मेवारी देखिएको छ ।
२१ साउन २०८०, आइतवार २१:०० बजे प्रकाशित