बालुवाटारमा प्रधानमन्त्री कार्की–अध्यक्ष ओलीबीच दुई घण्टा वार्ता
वि.सं.२०८२ माघ २२ बिहीवार १५:५९
shares

२२ माघ, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। ओली बिहान करिब ९ बजेपछि बालुवाटार प्रवेश गरेका थिए भने समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका विषयमा छलफल गरी फर्किएका हुन्।
ओलीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा गहन छलफल भएको थियो। साथै अध्यक्ष ओलीले निर्वाचन एकै चरणमा गरिनुपर्ने सुझाव सरकारलाई दिएका थिए।
‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो। उहाँले प्रधानमन्त्रीसँग करिब दुई घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले भन्यो।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा निर्वाचन गर्ने विषयमा सकारात्मक बुझाइ रहेको दुवै पक्षका निकटस्थहरूले बताएका छन्। छलफललाई समग्रमा आगामी निर्वाचन केन्द्रित र सहकार्यपूर्ण भएको स्रोतहरूको दाबी छ।
















