प्रशासनको स्पष्टिकरण– बालेनपत्नी सविनासँग सादा पोसाकका प्रहरी थिएनन्

2.69K
shares

काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेसँग घरदैलो अभियानका क्रममा देखिएका व्यक्तिहरू सादा पोसाकका प्रहरी नभएको प्रारम्भिक छानबिनबाट पुष्टि भएको छ।

निर्वाचन आयोगमा सादा पोसाकका प्रहरीले उम्मेदवार बालेन्द्र शाहको पक्षमा मत मागेको आरोपसहित उजुरी परेपछि आयोगले घटनाबारे छानबिन गर्न निर्देशन दिएको थियो। त्यसअनुसार झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत तेजप्रकाश प्रसाईंको नेतृत्वमा गठित समितिले प्रारम्भिक अनुसन्धान गरी आयोगमा प्रतिवेदन पेस गरेको हो।

छानबिनका क्रममा सविना काफ्लेसँग हिँडेकाहरू प्रहरी नभई उनका आफन्त, रास्वपाका सदस्य तथा उनलाई घर भाडामा दिने घरधनीहरू रहेको प्रशासनको आन्तरिक रिपोर्टमा उल्लेख छ। सामाजिक सञ्जालमा चस्मा लगाएका केही महिलालाई ‘सादा पोसाकका प्रहरी’ भनेर चर्चा गरिए पनि त्यसको पुष्टि हुने आधार नदेखिएको प्रशासनले जनाएको छ।

अनुगमन अधिकृत प्रसाईंले भने, “अहिलेसम्म उजुरीमा उल्लेख भएअनुसार प्रमाणित हुने आधार देखिएको छैन। तथापि यसबारे थप भेरिफिकेसन हुनेछ।”

प्रारम्भिक छानबिनमा त्यस्तो गतिविधि नदेखिएको र निर्वाचन आयोगले विस्तृत प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए।

यस विषयमा जिल्ला प्रशासन कार्यालय झापाले प्रहरीसँग समन्वय गरी छानबिन गरेको थियो। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईले उजुरी परेपछि तथ्य पत्ता लगाउन अनुगमन अधिकृतलाई निर्देशन दिइएको बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083