नेपाल टेलिकम राज्यको डिजिटल संरचनाको मुख्य आधार: गृहमन्त्री अर्याल
वि.सं.२०८२ माघ २२ बिहीवार १६:१२
shares

२२ माघ, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल संरचनाको आधारस्तम्भका रूपमा वर्णन गरेका छन्।
बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले दुर्गम हिमाली भेगदेखि तराईका गाउँसम्म सञ्चार सेवा विस्तारमा टेलिकमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। प्राकृतिक विपद्, महामारी र आपतकालीन परिस्थितिमा टेलिकमले निरन्तर सेवा प्रवाह गरेर राष्ट्रलाई जोडिराखेको उल्लेख गर्दै उनले यसको योगदान प्रशंसनीय रहेको बताए।
उनका अनुसार नेपाल टेलिकम अब केवल सञ्चार सेवा दिने संस्था मात्र नभई राज्य सञ्चालन, सेवा प्रवाह र आर्थिक गतिविधिलाई डिजिटल रूपमा जोड्ने मेरुदण्डको रूपमा स्थापित भइसकेको छ। सञ्चार सेवा आजको अवस्थामा मानव जीवनको आधारभूत आवश्यकता बनेको भन्दै उनले शिक्षा, सामाजिक विकास र आर्थिक रूपान्तरणमा यसको भूमिकालाई अपरिहार्य बताए।
गृहमन्त्री अर्यालले सेवाग्राहीले आधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा पाउने अधिकार रहेको उल्लेख गर्दै कम्पनीले त्यसतर्फ थप प्रतिबद्धता देखाउनुपर्ने धारणा राखे। ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा विस्तार गर्न सके मात्रै संस्थाको दीगो विकास सम्भव हुने उनको भनाइ थियो।
आगामी दिनमा नेपाल टेलिकमले नवीनतम प्रविधिमा आधारित अत्याधुनिक सेवा विस्तार गर्दै सेवाग्राहीको विश्वास अझ सुदृढ बनाउने अपेक्षा उनले व्यक्त गरे।
















