सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न: राष्ट्रपति पौडेल

1.08K
shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा नपुग्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणलाई लोकतन्त्र सुदृढीकरणको प्रमुख आधारका रूपमा औंल्याए।
राष्ट्रपति पौडेलले जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य सहज सेवा प्रवाह, सुशासन र समृद्धि रहेको उल्लेख गरे। उनले भने, “जनताले बनाएको संविधान र व्यवस्थाको अभिष्ट देशको समृद्धि र जनतामुखी शासन हो, यस लक्ष्य प्राप्तिका लागि सम्पूर्ण ध्यान केन्द्रित हुन आवश्यक छ।”
उनले पछिल्लो समय युवापुस्ताले संघर्षमार्फत सुशासन र उत्तरदायित्वको माग उठाएको प्रसंग स्मरण गर्दै त्यसलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताए। लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सामाजिक न्याय र समृद्धि नै मुलुकको साझा चाहना भएको उनले उल्लेख गरे।
राष्ट्रपतिले जनताको अपेक्षा अनुरूप विकास हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको स्पष्ट पारे। “सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्न सक्दैन, अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण बिना समृद्धि सम्भव छैन” उनले भने ।
भ्रष्टाचार केवल कानुन उल्लंघन मात्र नभई नागरिकको विश्वासमाथि आघात भएको बताउँदै उनले यसले राज्य र नागरिकबीचको भरोसाको सेतु कमजोर बनाउने चेतावनी दिए। “यो आर्थिक क्षतिभन्दा पर पुगेर लोकतन्त्रका आधारभूत मूल्यमाथि चोट पुर्‍याउने कार्य हो,” उनले भने।
राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताए। सत्ता, शक्ति र धनप्रतिको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग गराएर भ्रष्टाचार बढाउने उनले उल्लेख गरे।