कीर्तिपुरका सुकुमवासी बालबालिका: “हाम्रो त कक्षा छुट्यो”
वि.सं.२०८३ वैशाख २१ सोमवार २१:२९
shares

२१ वैशाख, काठमाडौं। कीर्तिपुरस्थित सुकुमवासी बस्तीका बालबालिकाको पढाइ घर भत्किएसँगै अवरुद्ध भएको छ। सरकारले शैक्षिक सत्र सुरु भइसकेको घोषणा गरे पनि होल्डिङ सेन्टरमा बस्दै आएका बालबालिका अझै विद्यालय जान पाएका छैनन्।
त्रिभुवन विश्वविद्यालयको जग्गामा रहेको ल्याबरोटरी स्कुलमा सोमबारदेखि कक्षा सञ्चालन सुरु हुँदा त्यसकै छेउमा रहेको राधास्वामी सत्संग व्यास आश्रममा बसिरहेका सुकुमवासी बालबालिकालाई भने पढाइ सुरु भएको जानकारीसमेत छैन।
कक्षा ३ मा अध्ययनरत अर्पण बिक भन्छन्, “घर भत्कियो, बस्ने ठाउँ छैन। हाम्रो त कक्षा नै छुट्यो।” उनीजस्तै धेरै बालबालिका विद्यालय जान इच्छुक भए पनि दूरी, यातायात र आवश्यक सामग्रीको अभावले रोकिएका छन्।
होल्डिङ सेन्टरमा रहेका बालबालिकासँग किताब–कापीसमेत छैन। कतिपयलाई त आज कुन दिन हो भन्ने समेत थाहा नभएको उनीहरू बताउँछन्। कक्षा ५ का जेनिस मगर भन्छन्, “स्कुल लागेको पनि थाहा छैन, हामी भित्रै छौँ।”
थापाथलीबाट विस्थापित उषा पासवान (कक्षा ६) का अनुसार उनका चार भाइसमेत विद्यालय जान पाएका छैनन्। “पढ्न मन छ, तर स्कुल टाढा छ। अभिभावक काममा जानुहुन्छ, हामी कसरी जानेरु” उनले प्रश्न गरिन्।
बालबालिकासम्बन्धी ऐन २०७५ र संविधानले सुनिश्चित गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार व्यवहारमा कार्यान्वयन नभएको अभिभावकहरूको गुनासो छ। कोठा अभावका कारण बालबालिकालाई नियमित विद्यालय पठाउन नसकिएको उनीहरू बताउँछन्।
कीर्तिपुरको होल्डिङ सेन्टरमा हाल २०३ जना बसोबास गरिरहेका छन्, जसमा धेरैजसो १८ वर्षमुनिका बालबालिका छन्। काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीमा करिब ३ हजार बालबालिका प्रभावित भएको प्रारम्भिक अनुमान छ।
यसबीच काठमाडौं महानगरपालिकाले प्रभावित बालबालिकाको पढाइ सुचारु गर्न विकल्प खोजिरहेको जनाएको छ। महानगरले होल्डिङ सेन्टर नजिकैको विद्यालयमा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिरहेको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार केही बालबालिकाले त्रिपुरेश्वरस्थित विश्व निकेतनमै पढ्न चाहेको बताएका छन् र त्यसबारे समन्वय भइरहेको छ।
तर कहिलेदेखि नियमित कक्षा सुरु हुन्छ भन्ने अझै स्पष्ट नभएकाले सुकुमवासी बालबालिकाको भविष्य अन्योलमै देखिएको छ।
































