ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

208
shares

२७ वैशाख, काठमाडौं। काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सिफारिस गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको जनाएको छ।

कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार बारम्बार कारबाहीमा परे पनि अटेर गर्दै एउटै गल्ती दोहोर्‍याउने चालकहरूलाई कडा कदमस्वरूप लाइसेन्स निलम्बनको प्रक्रिया अघि बढाइएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पटक–पटक जरिवाना तिराउँदा पनि चालकहरूमा नियम पालना गर्ने प्रवृत्ति नदेखिएपछि यस्तो निर्णय लिनुपरेको ट्राफिक प्रहरीको भनाइ छ। लाइसेन्स निलम्बनमा परेका चालकहरूले तोकिएको अवधिभर कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।

यस कारबाहीले काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको छ।