चोभारमा हत्या आरोपितलाई प्रहरीको गोली प्रहार
वि.सं.२०८३ वैशाख ३१ बिहीवार २०:५२
shares

काठमाडौँ। राजधानीको चोभार क्षेत्रमा प्रहरीले गोली चलाएर हत्या आरोपितलाई नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज अपराह्न सञ्चालन गरेको अपरेशनका क्रममा गोली प्रहार हुँदा सुजन शाही घाइते भएका छन्।
कार्यालयका एसएसपी सन्तोष खड्काको अनुसार शाहीलाई केही दिनअघि कीर्तिपुरमा भएको हत्या घटनाको मुख्य आरोपितका रूपमा खोजी गरिँदै आएको थियो। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको र उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिई अस्पताल पठाइएको उनले जानकारी दिए।
यसअघि कीर्तिपुर नगरपालिका–१०, पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
प्रहरीका अनुसार उक्त हत्या घटनामा तीन जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अन्य फरार आरोपीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।






























