बाराको ३ नम्बर पुल क्षेत्रमा डोजर स्थानीयको आरोप “राज्यले दमन गर्‍यो”

351
shares
baneshwor multiple campus

१ जेठ, बारा। डिभिजन वन कार्यालय बाराले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको सहयोगमा त्रिभुवन राजमार्गअन्तर्गत ३ नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर हटाएको छ। शुक्रबार बिहान गरिएको उक्त कारबाहीपछि स्थानीय व्यवसायी र बासिन्दाले राज्यले ज्यादतीपूर्ण ढंगले हटाएको आरोप लगाएका छन्।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जभित्र बस्ती तथा संरचना रहेकाले हटाउन बाध्य भएको बताए। उनका अनुसार यसअघि पटकपटक माइकिङ तथा लिखित सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि डोजर प्रयोग गरिएको हो।

दुई साताअघि सडक विभागको सूचनापछि व्यवसायीहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र आफैं खाली गरेका थिए। त्यसपछि पनि डोजर चलाइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई पर्याप्त समय नदिई हटाइएको गुनासो गरे। उनले सडक क्षेत्रभित्रका टहरा हटाइसकेपछि पनि बाँकी संरचनामा डोजर चलाउनु अन्यायपूर्ण भएको बताए।

तीन नम्बर पुल क्षेत्र हेटौंडा–पथलैया सडकखण्डमा यात्रुहरूको प्रमुख विश्रामस्थलका रूपमा परिचित थियो। यहाँ ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा रहेका थिए। बजार खाली गराइएपछि स्थानीयको जीविकोपार्जन प्रभावित हुने चिन्ता बढेको छ।

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलको आम्दानीबाट ऋण लिएर नयाँ घर बनाएको केही दिनमै डोजर चलेपछि आफू ठूलो संकटमा परेको बताइन्। “सडकको क्षेत्र छोडेर बनाएको घर सुरक्षित हुन्छ भन्ने सोचेकी थिएँ, अहिले सबै सकियो,” उनले भनिन्।

उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई वैकल्पिक व्यवस्था र पर्याप्त समय नदिई हटाउनु राज्यको “बर्बर दमन” भएको टिप्पणी गरे। उनले यसलाई व्यवसायीमाथिको मात्र नभई स्थानीयको मानवअधिकारमाथिको हस्तक्षेपसमेत भएको बताए।