रास्वपा महाधिवेशनका लागि चितवन पुगेका प्रधानमन्त्री बालेन तीन दिन लटौली सेन्चुरी रिसोर्टमा बस्ने
वि.सं.२०८३ असार ७ आइतवार १३:५३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी पत्नी र छोरीसहित महाधिवेशनको उद्घाटन तथा बन्दसत्रका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ। हालै सञ्चालनमा आएको उक्त रिसोर्ट महाधिवेशन अवधिभर विशेष तयारीसहित व्यवस्थापन गरिएको बताइएको छ।
रिसोर्टका सबै कोठा केही दिनअघि नै आरक्षित गरिएको र सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको जनाइएको छ। शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरीको टोलीले सुरक्षा तथा निरीक्षणको काम थालेको थियो।
महाधिवेशनस्थलबाट करिब १६ किलोमिटर दूरीमा रहेको रिसोर्टमा प्रधानमन्त्रीसँगै गृहमन्त्री सुदन गुरुङ तथा रास्वपाका केही शीर्ष नेताहरू पनि बस्ने कार्यक्रम रहेको बताइएको छ। विशिष्ट पाहुनाका लागि छुट्टै आवास र सुरक्षा प्रबन्ध मिलाइएको छ।
रिसोर्ट प्रशासनले सीमित कर्मचारीमार्फत मात्रै सेवा सञ्चालन गरिरहेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आगन्तुकको आवतजावतमा कडाइ गरिएको छ भने कर्मचारीहरूलाई समेत विशेष निर्देशन दिइएको स्रोतको भनाइ छ।
यसैबीच, लटौली सेन्चुरीसँगै नजिकै रहेको भ्युरानकोट रिसोर्टका केही कोठा पनि प्रधानमन्त्रीको टोलीका लागि आरक्षित गरिएको बताइएको छ। दुवै रिसोर्ट स्थानीय पर्यटन व्यवसायी ज्ञानेन्द्र खड्काले सञ्चालन गर्दै आएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
































