रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेकालाई पनि सभापतिले मनोनीत गर्न सक्ने
वि.सं.२०८३ असार ७ आइतवार १३:३२
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ।
संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। त्यसमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। साथै सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।
केन्द्रीय सदस्य पदका लागि आकांक्षीहरूको संख्या बढी भएकाले निर्वाचन हुने निश्चित भएको छ। महाधिवेशनमा विभिन्न समूहबाट प्रतिस्पर्धा हुने तयारी छ।
रास्वपा स्रोतका अनुसार केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका व्यक्तिलाई पनि सभापतिले मनोनीत गर्न सक्ने व्यवस्था विधानमा राखिएको छ। सभापतिले मनोनीत गर्ने ५१ सदस्यभित्र निर्वाचनमा पराजित उम्मेदवारहरूलाई समेत समेट्न सकिने बताइएको छ।
पार्टीभित्र समावेशिता, सन्तुलित प्रतिनिधित्व र आवश्यक विशेषज्ञता सुनिश्चित गर्न मनोनयनको व्यवस्था गरिएको रास्वपाका नेताहरूको भनाइ छ।
चितवनको भरतपुरमा आयोजना गरिएको महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू पुगिसकेका छन्। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे पनि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
































