ब्रेक्जिट सम्झौतापछि विश्वभर हलचल, ईयू नेताले दिए यस्तो चेतावनी

5.55K
shares

बीबीसी । ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौतामा सहमती भएपछि यसले विश्वभर हलचल मच्याएको छ। ब्रिटेनको ईयूबाट बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला हेर्ने मन्त्री डोमिनिक राबले यस सम्झौतामा सहमत नभएको भन्दै पदबाट राजिनामा दिएका छन् भने युरोपेली संघ (ईयू) का नेताहरूले यसलाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि वार्ता नगर्ने चेतावनी दिएका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले सम्झौताको दस्तावेज टेबलमा गइसकेकोले पुनः वार्ता गर्ने प्रश्न नै नउठ्ने बताएकी छन्। फ्रान्सका प्रधानमन्त्रीले ब्रिटेनमा देखिएको अनिश्चितताका कारण सम्झौता नहुने कुराका लागि तयार रहनुपर्ने औंल्याएका छन्। नोभेम्बर २५ मा ब्रेक्जिट सम्झौताको मस्यौदालाई अनुमोदन गर्ने योजनाबीच ईयूले त्यसअघि थुप्रै बैठकहरू गर्दैछ।

यद्यपि ब्रिटिश प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति मन्त्रिपरिषद्‌को समर्थन पाएपछि सम्बोधन गर्नुपर्ने थुप्रै कुरा बाँकी भएको नेताहरूले स्वीकारेका छन्। ब्रेक्जिटसम्बन्धी ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले भने, दुवै पक्षले अझै थुप्रै गर्न बाँकी छ। ब्रेक्जिट सम्झौताको अहिले मस्यौदामा संशोधन गर्ने कुनै चाहना नरहेको पनि मर्केलले बताइन्।

उनले भनिन्, ब्रिटेन र ईयूका २७ सदस्य राष्ट्रहरूले सहमति गरेको दस्तावेज टेबलमा पुगिसकेको छ। अतः हामीले थप वार्ता गर्नुपर्ने प्रश्न नै उठ्दैन। ब्रिटेनको राजनीतिक अनिश्चितताबारे फ्रान्सेली प्रधानमन्त्रीले पनि मर्केलको जस्तै धारणा राखेका छन्। उनले थपे, ब्रिटेनको वर्तमान राजनीतिक स्थितिले अनिश्चितता निम्त्याउन सक्ने कुरालाई कसैले पन्छाउन सक्दैन।